अब सुशीललाई भेडाले मात्रै भोट हाल्छन्ः खुमबहादुर

१० माघ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले बबरमहलमा कांग्रेसको ठूलो झण्डा फहराएर ‘सनातन हिन्दुराष्ट्र स्थापना महाअभियान’को कार्यालय स्थापना गरेका छन् ।
कांग्रेसका पूर्वनेता जेपी गुप्ता यतिबेला प्रचण्डको मोर्चामा पुगिसकेका छन् । खुमबहादुर भने अहिले पनि नेपाली कांग्रेसभित्रै शक्तिशाली भूमिकामा छन् । माओवादी नेतालाईसमेत तर्साउन सक्ने खड्काको अबको योजना र सामयिक राजनीतिलाई हेर्ने दृष्टिकोण के रहेछ भनेर बुझ्न लागि अनलाइनखबरका पत्रकार बबरमहल पुग्दा खड्काले एमाले अध्यक्ष केपी ओलीको ‘सह्राना’ गरे । प्रदेशको कुरामा चाँहि उनले खम्बुवान-लिम्बुवान-कोशी प्रदेश बनाउन सकिने बताए ।
कांग्रेसको आशन्न महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा जिताएर आफू महामन्त्री बन्ने योजना सार्वजनिक गर्दै खड्काले अब सुशील कोइरालालाई ‘भेडा’ले मात्रै भोट हाल्ने बताए । राजा शक्तिशाली भएका बेला पार्टीमा आफूले गणतन्त्रको प्रस्ताव राख्दा राजालाई चुक्ली लगाउने कांग्रेसका ‘हुतिहाराहरु’ले अहिले आफूमाथि आरोप लगाएको भन्दै खड्का कड्किए- देशमा राजा पावरफूल भएका बेला गणतन्त्रको कुरा गर्ने को हो ? अहिले कांग्रेसमा भएका मान्छे कोही हो ? कि म खुमबहादुर खड्का हो ? सुशीललाई गएर सोध्नोस् ।’

तपाई त कांग्रेसमा पार्टी सभापति नै हुने मान्छे हो भन्ने सुनिन्छ नि ?
के हुने लाइनको थिएँ, त्यो छाडिदिनोस् । अहिले त फुटपाथमै छु नि ।
प्रधानमन्त्री पनि बन्न आँट्नुभएको थियो रे नि ?
त्यसबेला उमेर पुगेको छैन भनेर छाडिदिएँ । ३९/४० वर्षको थिएँ, किन प्रधानमन्त्री हुनु भनेर छाडिदिएँ । त्यसको परिणाम भोगेको छु । भाग्यमा लेखेको कुरा हुन्छ भाइ, त्यसकारण मेरो भाग्यमा जुन लेखेको छ, त्यही भइराखेको छ । त्यसकारण मलाई चिन्ता छैन । म बचपनदेखि लडेर अहिले म बुढ्यौलीमा गइसकें ।
अब कांग्रेस छाडेर छुट्टै पार्टीको नेता बन्न लाग्नुभएको हो ?
हैन । जिन्दगी नै मैले यही पार्टीलाई लगाएँ, अब म जिन्दगीको लास्टमा अर्को पार्टीमा जान्छु ? सकेंछु भने पार्टीमै (हिन्दुराष्ट्रबारे) डिसिजन गराउँछु ।
सकिएन भने ?
आन्दोलनलाई….यो शक्तिको देश हो । अमेरिकालाई मान्छेले किन मान्छन् ? शक्ति छ र न सबैले मान्छन् ।
कांग्रेस महाधिवशेनमा सशुील कोइरालाले निरन्तरता चाहेका छन्, देउवा पनि सभापतिमा लड्दैछन् । तपाई पनि सभापतिमा उठ्नुहुन्छ ?
चाहना राख्नु आफ्नो ठाउँमा छ भाइ, चाहना राखेर सबै कुरा पुग्छ ?
शेरबहादुरसँग मिल्ने त ?
अहिले शेरबहादुरजी र म एकै ठाउँमा छौं । यसमा कुनै शंका छैन । मैले तपाई सभापतिमा लड्नोस्, म महामन्त्रीमा लड्छु भनिसकेको छु । त्यसमा कुरा मिल्यो भने एक ठाउँमा हुन्छौं, मिलेन भने अलग-अलग हुन्छौं । राजनीतिमा कसैको दुश्मन कोही छैन, मित्र पनि छैन, सबैसँग मिलेर लड्न सकिन्छ । यो ठूलो कुरा पनि होइन फेरि । स्थिति के हुन्छ, हेरौं । मेरो आन्दोलनले कस्तो रुप लिन्छ ।
सुशील कोइरालाले जेठसम्म प्रधानमन्त्री पदमै बसेर पार्टीको महाधिवेशन गर्न खोज्नुभएको हो ?
उहाँले के भन्नुभएको छ, मलाई थाहा छैन भाइ । थाहा नभएको कुरा, बेकारमा कमेन्ट गर्न हुँदैन । त्यो राम्रो पनि हुँदैन । उहाँको इच्छा प्रधानमन्त्री भएर पार्टीको अधिवेशन गराउँ भन्नु स्वाभाविक छ । तर, त्यही स्थितिमा ४ वर्षभित्रमा महाधिवेशन गराएको भए हुन्थेन ? किन उहाँलाई एक वर्ष थप्नुपर्‍यो ? किन लोभ लाग्यो ? के उहाँबाट पार्टी राम्ररी चलेको छ ?
सरकार पनि चलेन नि …..
नाइँ नाइँ, म सरकारतिर जाँदै जान्न । पार्टी राम्ररी चलेको छ ? उहाँले अहिलेसम्म कार्य सम्पादन समिति गठन गर्न सक्नुभएन । सबै काम लथालिङ्ग छ, नेबि संघको अधिवशेन गराउन सक्नुहुन्न । तरुण दल त्यस्तै छ । अब फेरि पनि उहाँलाई नै भोट दिने भनेका त नबुझ्ने साथीहरु हुन्छन् नि, एउटा भेडा अगाडि लाग्यो भने भेडा पछाडि कुद्छ रे, त्यस्तैले मात्रै भोट दिन्छन् उहाँलाई । राम्रो विवेक भएको मान्छेले, पार्टी बनाऔं भन्ने मान्छेले, नेपाली कांग्रेसलाई बलियो बनाऔं भन्ने मान्छेले उहाँलाई भोट हाल्दैन ।
पहिले एमालेलाई ‘लिंग नछुटिएको’ भनिन्थ्यो, अहिले नेपाली कांग्रेसचाँहि यता न उताको पेन्डुलम बनेको हो ? केपी ओलीले अब कांग्रेसलाई खाइदिन्छन् कि क्या हो ?
जुन चर्चा परिचर्चा छ, त्यो सत्य कुरा हो । मलाई पनि त्यो लागेको छ । किनभने हिजो जसरी गिरिजाबाबु र कांग्रेसको वरिपरि घुम्थ्यो नि, त्यो अहिले ओलीजीको पक्षमा छन् । ओलीजीलाई म के भनौं ? धन्यवाद भनौं कि के शब्दले उहाँलाई गरौं, जे होस्, उहाँको स्ट्ण्याडलाई मैले सह्राएको छु है । उहाँले स्ट्याण्ड छाडिदिएको भए शायद कांग्रेसले के गर्थ्यो के गर्थ्यो ।
तर, एमाले र ओलीको बढ्दो प्रभावले कांग्रेसलाई घाटा लाग्दैन ?
घाटा लाग्छ । घाटा लागेर के गर्ने ? हाम्रा कांग्रेसका नेताहरुले नबुझेपछि मैले घाटा र नाफाको कुरा गरेर के गर्ने ? सुशीलजी हाम्रो सभापति पनि हो, प्रधानमन्त्री पनि हो । आदरणीय पनि हो । श्रद्धेह पनि हो । उहाँलाई सल्लाह दिने साथीहरुले त राम्ररी सल्लाह दिनु पर्‍यो नि । कांग्रेसलाई कसरी ‘कि पोइन्ट’मा राख्ने, यो गर्दा हुन्छ भनेर दिनु परेन ? कि कुर्सीमात्रै जोगाइराख्ने, हल्लिइमात्रै राख्ने ?
तपाईले पनि दिए हुन्थ्यो नि सुशीललाई सल्लाह…
मेरो कुरा सुनेको भए त कांग्रेसको यो हालतै हुने थिएन नि ।
कमल थापाको राप्रपा नेपालसँग तपाई मिलेको हो ?
हिन्दु राष्ट्र स्थापना गर्ने कुरामा उहाँ र मेरो एजेन्डा मिल्यो । उहाँले राजासहितको हिन्दु राष्ट्र भन्नुभएको छ । राजाको पक्षमा उहाँले जनमत संग्रहमा जानुपर्छ भन्नुभएको छ, त्यो कुरासँग म सहमत छैन ।
किन ?
राजसंस्था जनमत संग्रहमा गयो भने लाइक र डिसलाइकको कुरा भो नि । हिजो राजाले के गरे, कसो गरे, संस्थाले त गरेको होइन नि । व्यक्तिले गरेको हो । त्यसकारणले अहिले कांग्रेसको त्यो लाइन नै छैन । त्यसकारण म त्यसमा जान पनि चाहन्न । अब कमल थापाले कसरी राजसंस्थाको बारेमा जनमत संग्रह भन्नुभो, त्यो उहाँले जान्नुहुन्छ ।
साँच्चै देशलाई निकाश दिने हो, एमालेलाई पनि डेमोक्रेसी चाहिएको हो, कांग्रेसलाई पनि डेमोक्रेसी र स्थायित्व चाहिएको हो, एमाओवादी र मधेसवादीलाई चाहिएको हो भने अहिले मेन नमिलेको दुईवटा कुरामा ज्यादा झगडा हो, एउटा संघीयताको कुरा । ल न त मधेसी र एमाओवादीले १० प्रान्त भन्नुभएको छ, जातीय आधारमा भन्नुभएको छ, यता कांग्रेस र एमालेको ७ वटा छ । जनमत संग्रहमा जाऔं न त । १० लाई माने भने उहाँहरुले जे भन्नुभएको छ, त्यही स्वीकार गरौं । कांग्रेस एमालेको एजेन्डा जनताले मान्छन् भने उहाँहरुले स्वीकार गर्नुपर्‍यो ।
त्यस्तै हिन्दुराष्ट्र हामीले भनिराखेका छौं, कमल थापाजीहरुले पनि भन्नुभएको छ, त्यसकारण हिन्दु राष्ट्र कि धर्म निरपेक्षता, त्यसमा पनि जनमत संग्रह गरौं । जनताले जे निर्णय गर्छन्, त्यसलाई सबैले स्वीकार गरौं । किन झगडा गरिरहने ? जनताको निर्णयलाई त मान्नुपर्‍यो नि ।
राजतन्त्रका बारेमा चाँहि जनमत संग्रहमा नजाने ?
म त हेर्नोस् राजाको विषयमा केही बोल्दिँन ।
तर, तपाईलार्इ राजतन्त्रको पक्षधर भन्ने आरोप लगाउँछन् नि ?
ती सबै कांग्रेसका हुतिहारा जमातले आरोप लगाउँछन् । पहिले यो देशमा राजा पावरफूल भएका बेला गणतन्त्रको कुरा गर्ने को हो ? अहिले कांग्रेसमा भएका मान्छे कोही हो ? कि म खुमबहादुर खड्का हो ? सुशीललाई गएर सोध्नोस् । शेरबहादुरलाई सोध्नोस्, रामचन्द्रलाई सोध्नोस् । रामशरणलाई सोध्नोस्, सेन्ट्रल कमिटीमा हुनुहुन्थ्यो । राष्ट्रपति रामवरणलाई गएर सोध्नोस् । अर्जुननरसिंह केसीलाई सोध्नोस् ।
कांग्रेसमा तपाईले राखेको हो गणतन्त्रको प्रस्ताव ?
कसले राखेको गणतन्त्रको प्रस्ताव ? राजा जतिबेला पावरफूल थिए । म गृहमन्त्री थिएँ । मैले प्रस्ताव राख्दाखेरि त्यसबेला म गणतन्त्रवादी भएँ, राजालाई चुक्ली लाए, अहिले राजा भनेर मैले के पाउँछु ? भन्नोस् त ।
पार्टीको डिसिजनलाई मान्छु म त्यो विषयमा । मेरो व्यक्तिगत सोचाइ होला । तर, मेरो चाँहि के हो भने यो देशलाई बचाउने हो भने केही न केही सोचाइ सबै पार्टीका नेताहरुले राख्नुपर्छ र लचिलो सबै हुनुपर्छ ।
तपाईलाई लाग्ने धेरै आरोपमध्ये राजावादी भन्ने छ….
मेरा सामुन्नेमा आएर भनुन् न । कुनले भन्छ, उत्तर म दिन्छु । यसको उत्तर मैले पत्रिकामा धेरै दिएको छु, त्यसपछि कसैले आरोप पनि लगाएका छैनन् । लाउने मान्छेलाई आमने-सामने बोलाउनु न त । बहस गरौं । म तयार छु । सुशीलले गर्छन् कि, शेरबहादुर, रामचन्द्र, सिटौला, जसले मलाई आरोप लगाउँछ, त्योसँग म बहस गर्न तयार छु ।
गणतन्त्रमा पार्टीको निर्णय मान्छु भन्नुहुन्छ, फेरि पार्टीले धर्म निरपेक्षता मानेका बेला हिन्दु राष्ट्र बनाउनुपर्छ भन्दै हिँडिरहनुभएको छ,….
कहाँ पार्टीले मानेको छ ? पार्टीको कुन निकायमा निर्णय भएको छ ? कुन निर्णय भएको छ, सोध्नोस् न पार्टी सभापति सुशीललाई गएर सोध्नोस् । कुन निकायमा निर्णय भएको छ ? हिजो शेखर कोइरालाको इन्टरभ्यु हेर्नु भो ? के भन्नु भो शेखरले ? कहीँ भएको छ भन्नु भो ? थाहै थिएन, कहीँ भएको हैन । एमपीलाई केही प्रस्ताव आउँछ कि आउँदैन ? कि सभामुखले जे भन्दियो, त्यही भइहाल्छ ? विधिवत् प्रस्ताव आउनुपर्छ कि पर्दैन ? एमपीले प्रस्ताव पढ्न पाउनुपर्छ कि पर्दैन ? त्यसमा कमेन्ट गर्न पाइन्छ कि पाइँदैन ?
भनेपछि तपाईले अब कांग्रेसको महाधिवेशनबाट धर्म निरपेक्षतालाई स्थापित गर्नुहुन्छ ?
हेर्नोस्, मैले पार्टीको महाधिवेशन फँहाधिवेशन सोचेको छैन । मैले सोचेको नेपालका हामी ९४ प्रतिशत ओमकार परिवारका सनातन हिन्दु धर्मावलम्बीहरु छौं । यत्रो जनसंख्या भएको र विश्वमा एउटामात्रै हिन्दु राष्ट्र हाम्रो चिनारी हो क्या हाम्रो । हाम्रो पहिचान हो । यसलाई समाप्त गर्ने जुन कोशिस यो संविधानसभाले गर्‍यो, त्यो गल्ती भएको छ । म व्यक्तिगतरुपमा कसैलाई आरोप लगाउँदिन । त्यो गल्ती भएको छ, त्यसलाई सच्याऔं । तपाई विदेशमा गएर सोध्नोस् न म हिन्दु भन्दा गर्व हुन्छ कि के हुन्छ ।
मलाई पार्टीको महाधिवेशन हैन । पार्टीमा त यसैै पनि मैले सेन्ट्रल कमिटीमा जितिराखेको छु । म जहिलेबाट पार्टी गठन भएको छ, त्यही बेलाबाट पार्टीमा छु । वीपीले मलाई क्षेत्रीय संयोजक बनाउनुभएको हो । शैलजा, रामचन्द्र हामीहरु एकैपटक भएको हो ।
माघ ८ मा संविधान नबन्दा खुमबहादुर खड्कालाई फाइदा पुग्यो भन्छन् नि ?
मलाई त फाइदै भएको छ । किन फाइदा भएको छ भने म त संविधान बनोस्, देशले निकास पाओस् भन्ने मान्छे हुँ । खाली मेरो एउटै मात्रै माग हो, अहिले बन्ने संविधानमा हिन्दु राष्ट्र हुनुपर्छ भन्नेमात्रै माग हो । अरु पाटोसँग मेरो कुनै फरक छैन ।
अहिले संविधान नबनेको हुनाले नेताहरु कति कमजोर रहेछन्, कति सोचाइ कमजोर रहेछ, सोच्न सक्दोरहेनछन्, बुझ्न सक्दो रहेनछन् भन्ने प्रमाणित गरेको छ । अहिले त्यतातिर जान चाहन्न, तपाईले भनेअनुसार हामीले समय पायौं । अब संगठन द्रुत गतिले अगाडि बढ्छ ।
तर, माघ ८ सम्म तपाईले कुनै गतिविधि गरेको देखिएन नि ?
अहिलेसम्म हामी किन चुप लागेर बसेका थियौं भने माघ ८ मा संविधान बनाउन नदिएको सम्पूर्ण दोष हामीमाथि जान्थ्यो, अब हामीलाई पार्टीहरुले भन्ने ठाउँ नै छैन ।
यदि नेताहरुको नैतिकता छ भने अब उहाँहरु कुर्सीमा बस्न लायक हुनुहुन्न । आफैं ८ गते, ८ गते भन्नुभो, अब जनतालाई के जवाफ दिने ? कुर्सी छाडिदिए हुन्छ ।
तपाईको विचारमा अब नेपालको राजनीति कता जान्छ ?
मैले त बारम्बार भनेको छु, बाह्रबुँदे भएको छ महिना पछिबाट यसले केही निकास दिँदैन । बाह्रबुँदे सम्झौता हेर्दा एकदम राम्रो छ । तर, डेफिनेसन भएन । आफ्नो आफ्नो किसिमले अर्थ लाग्ने ठाउँ छ त्यहाँ । त्यसैले यसले निकास दिँदैन भनेर मैले गिरिजाबाबु हुँदै विरोध गर्दै आएको हो ।
देश फेरि द्वन्द्वमा जान्छ । नेपाली कांग्रेसले तरुण दस्ता गठन गर्नुपर्छ । किनभने माओवादीसँग भिड्नुपर्ने स्थिति आउँछ हामीलाई । त्यो अवस्था सिर्जना हुन्छ ।
यदि साँच्चै पुष्पकमल दाहाल, बाबुराम भट्टराईहरु साँच्चै कम्युनिष्ट हुन् भने संसदीय व्यवस्था मान्नै सक्दैनन् । संसदीय व्यवस्था माने भने उनीहरु कम्युनिष्ट नै होइनन् । सोसल डेमोक्रेट भन्छु म । त्यसकारणले उनीहरु उत्तर फर्किएका छन्, हामी दक्षिण फर्किएका छौं । उनीहरु पश्चिम फर्किएका छन् भने हामी पूर्व फर्किएका छौं । अनि कहाँबाट मिल्छ ? अहिले त्यही भयो । जे हुनु थियो, त्यही भयो ।
उसोभए अब के गर्ने त ?
अहिले पनि टाइम बिग्रिएको छैन । यदि देशको लागि सोच्ने हो, राष्ट्रका लागि सोच्ने हो भने सबै पक्षलाई मिलाएर, संविधानसभाको मात्रै होइन, बाहिरको पनि, मोहन वैद्यहरु, विप्लवहरु, अरु-अरु जो छन्, संविधान सभामा भाग नलिएकाहरुको पनि राय लिएर देशमा कसरी स्थायित्व हुन्छ, शान्ति हुन्छ र डेमोक्रेसी बलियो हुन्छ भन्ने बारे सबै दलका नेताले गम्भीर भएर सोच्नुपर्छ र देशलाई निकास दिनुपर्छ भन्ने मेरो मान्यता हो ।
फेरि मेलमिलाप नै गर्ने ?
गर्नैपर्छ । त्यसो नगरे देश द्वन्द्वमा त जान्छ जान्छ । देशलाई द्वन्द्वमा जान दिने कि निकास दिने ?
अब संविधान कहिले बन्ला ?
भविश्यवाणाी त म गर्दिँन । मैले पहिल्यैबाट भनेको छु, प्रचण्डको कुरा मान्नुहुन्छ भने संविधान बन्छ, प्रचण्डको कुरा मान्नुहुन्न भने संविधान बन्दैन भनेको थिएँ, त्यही भएको छ । अहिले पनि त्यही हो । प्रचण्डले अहिले अडान छाड्नुभएन । कसरी छाड्नुहुन्छ उहाँले ?
संविधानमा मिल्न नसकेका विषयमा अब कसरी सहमतिको सम्भावना देख्नुहुन्छ ?
हाम्रो मेन संघीयतामा नमिलेको हो नि । मैले त यसमा ठूलो कुरा देखिँन हेर्नोस् । यो खाली जुँगाको लडाइँ नेताहरुले गरेको जस्तो लाग्यो । निकासै दिन खोजेको भए त जातीय आधारमा ४ भए पनि मान्छु, ६ प्रदेशमा त प्रचण्डले पनि मान्नुभएको थियो नि भन्छन् हाम्रा साथीहरु ।
म भन्छु उहाँहरुको जुँगाको लडाइँ हो । हाम्रो पश्चिममा यो जातीयताको लडाइँ छैन । जति हो, पूर्वमा हो । खम्बुवान, लिम्बुवान पूर्वमा हो । यसमा सबैलाई समेट्न खम्बुवान-लिम्बुवान-कोशी राखिदिउँ न । तर, उहाँहरु कोशी पनि नमान्ने । खम्बुवान लिम्बुवान र कोशी राखेको भए सबैको बहुपहिचान भैहाल्थ्यो नि । कोशी भनेपछि अरुको पनि भैगो । तर, उहाँहरुले लिम्बुको अलग, राईको अलग , त्यो कसरी सम्भव छ ? यो त देशलाई विभाजनमा लाने कुरा हो ।
विभाजन कसले गर्छ ?
म कसैको नियतमाथि शंका गर्दिँन, तर भविश्यमा यसले देशमा दुर्घटना निम्त्याउँछ र देशका लागि त्यो हानिकारक हुन्छ । यो अहिले एजेन्डा उठाउने साथीहरुले कसरी उठाउनुभएको छ, यो उहाँहरुले विचार गर्नुपर्छ, सोच्नुपर्छ जस्तो लाग्छ मलाई । उहाँहरुको पनि ‘फेस भ्यालु’का लागि लिम्बुवान-खम्बुवान-कोशी गरिदिऔं । अन्त त्यस्तो कुरै छैन ।
मधेसको सवालमा चाहिँ के गर्ने ?
मधेसका दुईवटा भन्ने कुरा आएको छ । मधेसका साथीहरुले या त बुझ्नुभएको छैन, या त के हो मैले त्यो बुझेको छैन । सुदुरपश्चिममा तपाई जानुभयो भने कर्णाली चिसापानीको पुल पारिका मान्छेले बर्दियाका मान्छेलाई पूर्वेली भन्छन् र अर्कै दृष्टिले हेर्छन् । त्यो अवस्था छ त्यहाँ ।
सुदुर पश्चिमको अवस्था के हो भने थरुहटमा मिल्नुपर्छ भन्ने त छ । त्यसोभए त्यहाँ जनमत संग्रह गराइदिऔं न त । कैलालीमा जनमत संग्रह गराइदिऔं । कैलालीका जनताले थरुहटमा जानुपर्छ भन्छन् भने थरुहटमा राखौं, सुदुरपश्चिममा हुनुपर्छ भन्छन् भने सुदुरपश्चिममा राखौं । त्यहाँ ३२ प्रतिशत जति थारुहरु छन् । अब ३२ प्रतिशतले भनेको मान्ने कि ६८ प्रतिशतले भनेको मान्ने ? डेमोक्रेसीको कुरा गर्ने, बहुमतको कदर नगर्ने ? मेरै गोरुको बाह्रै टक्काजस्तो गर्न त मिल्दैन जस्तो लाग्छ है मलाई ।
त्यसकारण सुदुरपश्चिमलाई अलग्गै गराएर दुईवटा मधेस बनाइदिएपछि पुग्छ जस्तो लाग्छ मलाई ।