भारतमा स्वाइन फ्लुबाट ८ सय ३३ को मृत्यु, स्वास्थ्यमन्त्रीलाई समेत संक्रमण

काठमाडौं, फाल्गुन १२ । सोमबार एकैदिन २१ जनाको मृत्यु भएसँगै भारतमा ‘स्वाइन फ्लु’का कारण मर्नेको संख्या ८ सय ३३ जना पुगेको छ ।

मध्य डिसेम्बरयता फैलिएको स्वाइन फ्लुको महामारीबाट संक्रमित हुनेको संख्या १४ हजारको हाराहारी पुगेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । संक्रमणबाट उत्तरी राजस्थानका बासिन्दा सबैभन्दा बढी प्रभावित भएपनिराजधानी दिल्लीलगायत अरु क्षेत्र पनि यस रोगको चपेटामा परेका छन ।

गुजरातका स्वास्थ्यमन्त्री शंकर चौधरी पनि स्वाइन फ्लुबाट संक्रमित भएको बताइएको छ । भारतमा यस वर्ष फैलिएको ‘एच १ एन १’ भाइरसको सक्रमण सन् २०१० यताकै खराब रहेको बताइएको छ ।

सन् २००९ मा मेक्सिकोमा पहिलोपटक देखापरेको स्वाइन फ्लुको महामारीबाट विश्वका विभिन्न मुलुक प्रभावित भइसकेका छन् । स्वाइन फ्लू संक्रमितले खोक्दा, हाच्छियूँ गर्दा र बोल्दा मुखबाट निस्कने पानीको माध्ममबाट यो रोग फैलन्छ ।

कडा ज्वरो आउनु र स्वासप्रश्वासमा समस्या आउनु यस रोगको मुख्य लक्षण हो । (एजेन्सी)