पुरुषले चाहन्छन् दीर्घकालीन सम्बन्ध, महिलाले क्षणिक

विपरित लिंगीसँगको सम्बन्धको मामिलामा महिला र पुरुषको चरित्र फरक फरक रहने कुरा थाहा भएकै विषय हो । महिलाहरु पुरुषसँगको सम्बन्धमा बढि गम्भीर हुने र सम्बन्धलाई दीर्घकालीन बनाउन चाहने तर पुरुषहरु भने त्यसको ठीक विपरित हल्का पारामा प्रस्तुत हुने र महिलासँगको सम्बन्धलाई क्षणिक मोजमस्तीका रुपमा लिने आमधारणा रहने गरेको छ । तर पछिल्लो अध्ययनले भने यो धारणाको ठीक विपरित पुरुषहरुले दीर्घकालीन सम्बन्ध मन पराउने र महिलाहरु क्षणिक सम्बन्धमै रमाउन चाहने तथ्य पत्ता लगाएको छ ।

अमेरिकी अध्ययनकर्ताहरुले विपरित लिंगीसँगको सम्बन्धमा पुरुष र महिलाको समर्पण वा प्रतिबद्धताका विषयमा गरेको अध्ययनले यस्तो देखाएको हो ।
युनिभर्सिटी अफ उटाहका शोधकर्ता रायन स्क्याच्टका अनुसार लायक पार्टनरहरुको उपलब्धताले सम्बन्धमा रहेको प्रतिबद्धतालाई प्रभावित गर्दछ । यौन वा प्रेम सम्बन्धमा समेत माग र आपूर्तिको नियमले काम गर्छ ।
शोधकर्ताका अनुसार महिला वा पुरुषमध्ये जसको जनसंख्या बढि हुन्छ उसलाई आफ्नो जोडी भेटाउन अलिक मुस्किल पर्छ । त्यसैले उसले कम संख्या भएको लिंगलाई बढि महत्व दिन्छ । आफ्नो जोडीले आफुलाई छाडिहालेमा अर्को जोडी खोज्न गाह्रो हुने महसुस उसमा हुने भएकाले बढि संख्यामा रहेको लैंगिक समूहले विपरित लिंगी जोडीसँगको सम्बन्धलाई दीर्घकालीन बनाउन चाहन्छ । तर कम संख्या भएको लैंगिक समूहले भने आफ्नो जोडी छनोटमा पर्याप्त विकल्प पाउँदछ ।
त्यसैले यदि समाजमा पुरुष भन्दा महिलाको संख्या कम भएमा उनीहरु पुरुषप्रति चूजी हुन्छन् अर्थात् प्रसस्त केटा छनोट गर्छन् । त्यसैले उनीहरुले कुनै केटासँगको सम्बन्धलाई दीर्घकालीन बनाउनु भन्दा त्यो भन्दा राम्रो पाएमा अर्को केटासँग सम्बन्ध कायम राख्न चाहन्छन् । उता पुरुषहरुको संख्या महिलाभन्दा कम भएको समुदायमा पनि पुरुषहरुको चरित्र त्यस्तै प्रकारको हुन्छ ।
गुएना देशका मुकुशी आदिवासी समुदायमा शोधकर्ताले अध्ययन गरी महिलाहरु क्षणिक सम्बन्धमा रमाउने र पुरुषहरुले सम्बन्धलाई दीर्घकालनी बनाउन चाहने निष्कर्ष निकालेका हुन् । उक्त समुदायमा महिला भन्दा पुरुषको संख्या बढि रहेको छ ।
यो अध्ययनले एउटा रोचक तथ्य के पनि प्रकाशमा ल्याएको छ भने जब महिलाको भन्दा पुरुषको संख्या बढि हुन्छ तब पुरुष-पुरुषबीचको संघर्षमा वृद्धि हुनुका साथै यौन संक्रामक रोगमा समेत वृद्धि हुन्छ ।