दुर्घटनामा एकको ज्यान गयो......!

फल्गुण- ७ ,चितवन
-- चितवनको रत्ननगरस्थित शान्तिचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको कठार गाविस– ६ बस्ने ३० वर्षीय कृष्ण गिरी रहेको प्रहरीले जानकारी दिएको छ । अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
नारायणगढबाट हेटौँडा जाँदै गरेको ना५ख ५८७६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा१ख ६६७४ नम्बरको तरकारी बोकेको मिनी ट्रक एकापसमा ठक्कर खाई सो दुर्घटना भएको हो ।आज बिहान करिब ३ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तरकारी बोकेका मिनी ट्रकका चालक गिरीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्युभएको प्रहरीले जानकारी दिएको छ ।
उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । अन्य सबै घाइतेको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।