नेपाल ल्याइएको चामलको बोराभित्र भारु नोटका बिटा

आरपी सुवेदी
१० फागुन, नेपालगन्ज । भन्सार गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले बास्मती चामलको बोरामा लुकाएको अवस्थामा ठूलो मात्रामा भारतीय रुपैयाँ बरामद गरेको छ ।

नेपालगन्ज भन्सार सुरक्षामा युनिटबाट सशस्त्र प्रहरी निरीक्षक गंगा पन्तको कमाण्डमा गस्तीमा निस्केको टोलीले पुष्पलाल चोक नजिकैबाट ६ लाख ५३ हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।
सशस्त्र प्रहरीको नेपालगन्ज भन्सार युनिटका ईन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक विजय केसीले दिएको जानकारी अनुसार १ हजार दरका १ सय ३५ र ५ सय दरका ८ सय ६१ थान भारु नोट फेला परेका छन् ।
यसैगरी एक सय दरका ७ सय ८८, ५० दरका ८३, २० दरका ५९ र १० दरका ३ सय ३७ थान नोट पनि बरामद भएका छन् ।
निलो रंगको पल्सर मोटरसाइकलमा बासमती चामल लिएर आइरहेका व्यक्ति प्रहरीलाई देखेर भागेपछि प्रहरीले बोरा खोलेर हेर्दा चामल भित्र भारु नेाटका बिटा फेला पारेको हो ।
बरामद भारतीय रुपैयाँको मुचुल्का उठाई आवश्यक अनुसन्धानको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाईएको छ ।