प्रेमीले धोका दिएपछि नर्सले गरिन् आत्महत्या (सुसाइड नोटसहित)
गोपाल दाहाल, धरान, माघ १७- विजयपुर हस्पिटलकी स्टाफ नर्स प्रिति मुखियाले प्रेमीकै कारण आत्महत्या गरेको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएको छ । मुखियाका प्रेमी धरान १४ स्थित आइडल बोर्डिङ स्कुलका प्रिन्सीपल सागर खड्काले विवाहको प्रलोभन देखाएर धोका दिएको भन्दै उनलाई कारवाहीको माग गर्दै परिवार प्रहरीमा पुगेको हो ।
सागर र प्रितिबीच दश बर्षदेखि प्रेमसम्बन्ध रहेको दुवैका परिवारलाई थाहा भएको तर दुई साताअघि जात नमिलेको भन्दै सागरले अर्कै युवतीसँग इन्गेजमेन्ट गरेपछि प्रितिले खाना नखाई बस्ने गरेको प्रितिकी दिदी भावना राईले बताईन् । उनका अनुसार सागरले बेलाबेला राती आएर प्रितिलाई गाडीमा हालेर लैजाने गरेका थिए । पटक–पटक कुटपिट गर्ने र मोबाईल फुटाई दिने गर्दा पनि प्रितिले उसैसँग विवाह गर्ने भनेर सहेर बसेकी थिईन् । आत्महत्या गर्नु अघिपनि प्रितिको मोबाईलमा सागरकै फोन आएको भावनाले बताईन् । उनले भनिन् ‘प्रहरीमा उजुरी दिन जाँदा धोका दिएकैमा प्रेमीलाई कारबाही गर्न मिल्दैन भन्यो, सागरले नै मर्न बाध्य बनाएको हो । त्यस्तालाई कारबाही गर्न नमिल्ने कानुन सच्चाउनु पर्छ ।’ प्रिन्सिपल खड्का भने आफू उनको घरमा गईरहेपनि प्रेमसम्बन्ध नरहेको दाबी गर्छन् । उनले प्रितिको अर्कै व्यक्तिसँग प्रेमसम्बन्ध रहेको दाबी गरे । तर अर्को केटा को हो भनेर बताउन सकेनन् । उनले प्रितिसँग धेरै दिनदेखि सम्पर्क नभएको पनि बताए । तर प्रितिकी दिदी भावना भने आत्महत्या गर्नुअघि प्रितिको मोबाईलमा सागरको फोन आएको दाबी गर्छिन् । प्रहरीले भने आत्महत्या भएकाले ज्यानसम्बन्धी मुद्दा दर्ता गर्न नमिल्ने जनाएको छ । इलाका प्रहरीका डिएसपी सञ्जयसिंह थापाले परिवारले दिएको उजुरी सच्याएर आत्महत्या बनाए मात्र दर्ता गर्न मिल्ने बताए । एक बर्ष विराटनगरस्थित न्यूरो हस्पिटलमा काम गरेकी प्रिति विजयपुर हस्पिटलमा दुई महिनादेखि कार्यरत थिईन् ।