एकदिनको बन्दमा २ अर्ब नोक्सान

इमेजखबरले खबर लेखेको छ ।एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले आह्वान गरेको आम हडतालका कारण मंगलबार मुलुकभरको जनजीवन प्रभावित बन्यो । विपक्षी मोर्चाले आफ्ना राजनीतिक माग पूरा गराउन सरकारलाई दबाव दिन गरेको बन्दले सर्वसाधारण, पर्यटक, उद्योगी, व्यवसायीलाई मानसिक र शारीरिक तनाव दियो ।
दिनरात मजदुरी गरेर छाँक टार्ने सर्वसाधारण नै बन्दको बढी मारेमा परे । उनीहरुको गुजारा चलाउने सवारीका साधन तोडफोड र आगजनी गरिएको छ भने पसल व्यवसाय पूर्णरुपमा बन्द गराइएका छन् ।

बन्दको सबैभन्दा बढी असर उद्योग, व्यवसायमा परेको छ । त्यसमा पनि पर्यटन क्षेत्र बढी मारमा परेको उद्योगी, व्यवसायीहरु बताउँछन् । ‘एकदिनको बन्दले उद्योग, व्यवसायको क्षेत्रमा मात्रै प्रत्यक्षरुपमा करिब २ अर्ब रुपैयाँ बराबरको घाटा हुने’ बताइन्छ ।

‘एकदिनको बन्दको असर चार दिनसम्म पर्ने’–नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ बताउँछन् ।

निजी क्षेत्रले आफ्ना माग पूरा गराउनका लागि बन्दलाई हतियार नबनाउन र सर्वसाधारणको दैनिकीमा असर नपार्न अपिल गर्दै आएको छ ।

बन्द, हडताल जस्ता गतिविधि नगर्ने लिखित प्रतिबद्धता गरेका दलहरु नै बन्द, हडतालमा उत्रिनु गम्भीर विषय भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ ।

निजी क्षेत्रले बन्दलाई सदाको लागि बन्द गरी आन्दोलनको वैकल्पिक उपाय खोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराएको छ ।