‘प्रचण्डज्यू, अनशन बस्नोस् तर, नेपाल बन्द नगर्नोस्’

२१ चैत, काठमाडौं । दायाँतिर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पशुपति मुरारका र वायाँतिर चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई राखेर प्रचण्ड मञ्चमा बसेका थिए । त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेट सेन्टर बाहिर आँधीले रुख हल्लाइरहेको थियो, भित्र प्रचण्डको मथिंगल हल्लिइरहेको थियो ।
30 dal prachanda (2)‘३० दलीय गठबन्धनको आन्दोलन किन ?’ शीर्षकमा शनिबार अपरान्ह एमाओवादीले आयोजना गरेको ‘सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम’मा बोल्दै उद्योगपति पशुपति मुरारकाले प्रचण्डलाई भने, ‘नेपाल बन्दको कार्यक्रम फिर्ता लिइदिनोस् । सहमतिमै संविधान बन्नुपर्छ भन्नेमा हामी पनि छौं, तर ३० दलको बन्द लगायतका आन्दोलनका कार्यक्रम परिमार्जन गरियोस् ।’
मुरारकापछि बोलेका नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रचण्डलाई भने- ‘गरीखाने वर्गलाई अप्ठ्यारो पर्ने गरी आन्दोलन नगर्नोस् । अस्पताल खोल्न आन्दोलन गर्नोस्, नेपाल दक्षिण एशियाको सबैभन्दा गरीब देश भइसक्यो, नेपाली युवाहरु विदेशमा छन्, चेलिबेटीको हालत कहालिलाग्दो छ, नेपाल भुटानभन्दा पछि परिसक्यो । बरु दिनको दुई घण्टामात्रै बन्द गर्नोस, नेपाल बन्दको कार्यक्रम परिमार्जन गर्नोस् ।’
राजेशकाजी श्रेष्ठले भने- बरु डा. गोविन्द केसीले जस्तै आमरण अनशन बसौं, हामी व्यापारीले पनि साथ दिन्छौं
परिसंघका अध्यक्षले बोलिसकेपछि चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको बोल्ने पालो आयो । उनले पनि प्रचण्डलाई मिलाएर सुझाव दिए । उनले भने, ‘सहमतिमा संविधान बन्नुपर्छ भन्ने प्रचण्डको कुरामा हामी पनि साथ दिन्छौं, तर, चैत १९ को जस्तै चैत २३ गतेको नेपाल बन्द पनि फिर्ता लिइदिनोस् । बरु डा. गोविन्द केसीले जस्तै आमरण अनशन बसौं, हामी व्यापारीले पनि साथ दिन्छौं । हामी बन्दको विरोधमा बन्द गर्ने पक्षमा पनि छैनौं, तपाईहरुले नेपाल बन्दको कार्यक्रम फिर्ता लिइदिनोस् ।’
प्रचण्डलाई एकपछि अर्कोले नेपाल बन्द फिर्ता लिन र बरु अनसन बस्न आग्रह गरिरहेकै बेला अर्का वक्ताले फेरि अझै थप दबाव दिए । उनी थिए नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारी । विगतका नेपाल बन्दहरुमा यातायात व्यवसायीहरुले साथ दिएको स्मरण गर्दै भण्डारीले पनि प्रचण्डलाई नेपाल बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरे ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुशकुमार जोशीले पनि प्रचण्डलाई नेपाल बन्द फिर्ता लिन आग्रह गरे । सहमतिमा संविधान बन्नुपर्छ भन्ने प्रचण्डको भनाइमा सम्पूर्ण उद्योगी व्यवसायी सहमत रहेको जोशीले बताए ।
‘उद्योगी व्यवसायी सहमतिकै पक्षमा छन्, जनता पनि सहमतिकै पक्षमा छन्,’ जोशीले भने,’आन्दोलन हुनुपर्छ तर त्यसको प्रक्रिया के हो ? १ करोड ५० लाखका हातमा मोवाइल छ, सामाजिक सञ्जाललाई पनि प्रयोग गर्न सकिन्छ, बन्द हडतालमात्रै आन्दोलनको प्रक्रिया होइन । बन्दको सोचबाट हामी कहिले माथि उठ्छौं ?’
नेपाल बन्द नगर्न आफ्नै सभासदको सुझाव
आन्दोलनबारे उद्योगपतिलाई कन्भिन्स गर्न बोलाइएको अन्तरक्रियामा प्रचण्डलाई आफैंले मनोनित गरेका सभासद श्याम श्रेष्ठले पनि नेपाल बन्द नगर्न सुझाव दिए ।
‘नेपाल बन्दले सरकारलाई प्रभाव पार्दैन, गरीखानेलाई वर्गलाई मात्रै असर पार्छ’ सभासद श्रेष्ठले मञ्चबाट प्रचण्डलाई सुझाव दिँदै भने,’नेपाल बन्द गर्नुको साटो सिंहदरबार घेर्न किन सक्नुहुन्न ? सरकारलाई लाग्नेखालको आन्दोलन गर्नोस् । तीन दिने नेपाल बन्दको विकल्प सोच्नुपर्छ । डा. गोविन्द केसीको पनि एउटा मेथड हुँदोरहेछ ।’
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले सरकार र ३० दलीय मोर्चावीच मध्यस्थता गर्न पत्रकार महासंघ तयार रहेको बताए । पत्रकार मगरले सम्पूर्ण टेलिभिजनका अगाडि बसेर लाइभ वार्ता गर्न नेताहरुलाई आग्रह गरे ।
प्रचण्डको जवाफ- बन्दलाई समर्थन गर्नोस्
नेपाल बन्द नगर्न सबैले मञ्चबाट एक एक गर्दै आग्रह गरेपछि जवाफ दिन अघि सरेका प्रचण्डले भने-‘नेपालमा ज्यादिविधि अन्याय हुन थाल्यो भने आन्दोललनको उत्कर्ष बन्द हडताल नै हुने गरेको छ, ०६२/०६३ को १९ दिने आम हड्ताल के थियो ?’
उद्योगी व्यवसायीहरुले सहमतिमै संविधान बन्नुपर्छ भन्नेमा जोड दिनुले सिंगै नेपाली जनता सहमतिको पक्षमा रहेको प्रचण्डले बताए । उनले उद्योगपतिहरुलाई जवाफ दिँदै भने-‘तपाईहरुले नै सहमतिबाटै संविधान बन्नुपर्छ भन्नुभो, अब कांग्रेस र एमालेका नेताहरुले सुन्नुभो भने पर्सिको नेपालबन्द फिर्ता गर्छौं, सुन्नुभएन भने तपाईहरुले पनि नेपाल बन्दलाई समर्थन गर्नुपर्छ ।’
यद्यपि नेपाल बन्दको कार्यक्रम परिमार्जन गर्न व्यवसायीहरुले दिएको सुझाव ३० दलको बैठकमा राख्ने र त्यसलाई सकेसम्म सम्मान गर्ने प्रचण्डले आश्वासन दिए ।
उद्योगी व्यवसायीलाई मञ्चमा राखेर आयोजना गरिएको कार्यक्रममा दर्शकहरु खचाखच थिए । कार्यक्रमको सञ्चालन पूर्व अर्थमन्त्रीसमेत रहेका वर्षमान पुनले गरेका थिए । कार्यक्रममा पूर्वराजदूत विजयकान्त कर्णले आन्दोलन आवश्यकता भएको बताएका थिए । मधेसवादी नेता जितेन्द्र देवले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।