३० दलीय मोर्चाको तीन दिनेआम हड्ताल फिर्ता

फाइल फोटो
फाइल फोटो
२४ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले आम हड्ताल फिर्ता लिएको छ ।
भर्खरै सकिएको मोर्चाको बैठकले भोलि र पर्सीको बन्द फिर्ता लिने निर्णय गरेको हो । एमाओवादी मोर्चाले तीन दिने आम हड्ताल आहृवान गरेको थियो, जसको पहिलो दिन देशभरको जनजीवन प्रभावित भयो ।
३० दलीय मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले बन्द फिर्ताको प्रस्ताव गरेका थिए । संविधानसभाको बैठक ३० गतेका लागि राखिएकाले बन्द फिर्ता लिइएको प्रचण्डले बताएका छन् ।
स्रोतका अनुसार २३ गतेको संविधानसभाको बैठकले बहुमतीय प्रक्रिया बढाउने र त्यसले आन्दोलनलाई उत्कर्षमा पुग्ने ३० दलको विश्लेषण थियो । तर, एमालेका पूर्व सभासद रामनाथ ढकालको निधनका कारण २३ गतेको बैठकले शोक प्रस्ताव पारित मात्र गर्‍यो ।
संविधानसभाको बैठक ३० गतेसम्मका लागि स्थगित भएको छ । यसले बन्द जनतालाई दुःख दिन मात्र हुने भन्दै चतर्फी दबाव आएकाले अब बन्द फिर्ता लिनु पर्ने प्रचण्डको प्रस्ताव थियो ।
बैठकमा फोरम अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तमलोपाका अध्यक्ष महन्थ ठाकुरले भने घोषित कार्यक्रम फिर्ता लिन नहुने धारणा राखेका थिए ।