यसरी हुँदैछ युएईमा नेपालीहरुको चमत्कार...

प्रवासबाट हामीले पटकपटक भन्ने एउटै शब्द हो देशलाई सबैभन्दा बढी माया र देशप्रेम भएका हामी प्रवासी मात्र हौं। यो घमण्डको शब्द पनि  होइन त्रिभुवन विमानस्थलबाट विमानले खुट्टो उचालेपछि गहभरी आँसु झारेको त्यो पीडाले सधैभरी भावनामा घोचिरहने त्यही पलको सम्झना पनि हो।
‘जननी जन्मभूमिश्च स्वर्ग गरिदपि यशी’ यो श्लोकले पनि उत्तिकै दर्साउँछ मातृभूमी प्रतिको माया र भन्छ संसारको जुनसुकै कुनामा पुगेपनि हाम्रो जन्मभूमि प्रतिको माया सधै अटल छ र रहिरहने छ।
देशमा आएको अकल्पनीय प्राकृतिक प्रकोपले यतिबेला परदेशीलाई न भोक छ न निद्रा सात समुन्द्रपारीबाट देश परिवार आफन्तको मायाले उनीहरूलाई पोल्नुसम्म पोलेको छ।
कोहि परिवारका सदस्य गुमाएर पनि घर फर्किन सकेका छैनन्। यो देशप्रेमको माया भित्र पनि पीडा अनेक थरीका छन्।
यही पीडामा मल्हम लगाउँदै ती पिडाहरू बिर्साउँदै सँगसँगै देशका लागि केही गरौं भनेर हामीले साङगीतीक कार्यक्रमको परिकल्पना गर्‍यौ र सबैमा सकेसम्म निःशूल्क बनाउने अवधारणा अगाडि सार्‍यौ।
सामान्य अवस्थामा हामीले नै लाखौंको सम्झौता गर्ने कलाकारलाई निःशूल्क आइदिन अपील गर्‍यौ। हाम्रो निःस्वार्थ भावलाई स्वागत गर्दै महानायक राजेश हमाल चर्चित हास्यकलाकार दीपकराज गिरी, लोक दोहोरी गायिका सम्झना लामिछाने मगर लोक पप गाएक तिलक बम मल्ल, बिबि मल्ल ठकुरी, पप गायिका प्रजिता गेलाल, मोडल मधु भट्टराई सम्मले हाम्रो स्वागत स्वीकार्दै निःशूल्क आउने स्वीकृति दिएपछि हामीमा उत्साह थपियो।
अब हाम्रो अगाडि अर्को आर्थिक रूपमा निकै बोझ पार्ने र बिदेशीलाई गुहार्नुपर्ने एउटा हलको आवश्यकता थियो। विभिन्न समयमा हाम्रा विभिन्न कार्यक्रममा हजारौं दिरामको सम्झौता गर्ने युएईको राजधानी अबुधाबीमा रहेको अल नाहाद स्कुलको लगभग तीन हजार मानिस अटनसक्ने हलमा मनमा त्राससहित थोरै आशा बोकेर त्यहाँ पुग्दा हाम्रो खुसी सम्हालीनसक्नु भयो।
त्यहाँका ब्यवस्थापन निर्देशकले हाम्रो भाषा गजबले बुझेर हललाई निःशूल्क दिने मात्र घोषणा गरेनन् स्कुल र हलको तर्फबाट समेत डोनेशन गर्ने प्रतिबद्धता जाहेर गरे।
उत्साह खुसी र कार्यक्रम प्रतिको हाम्रो जोस हावामा उडीरहेका बेला नेपालबाट युएईमा आएर ट्राभल्स ब्यवसाय गरिरहेका अन्नपूर्ण ट्राभल्सका प्रोप्राइटर राकेश जयसवालले फोन गरेरै सबै कलाकारको निःशुल्क भिसा उपलब्ध गराउने बचन दिए।
त्यसैगरी यो कार्यक्रम कुनै ब्यक्ति कुनै एक संस्थाको मात्र नभई युएईमा बस्ने आम नेपाली युएईमा स्थापित सम्पूर्ण संघसंस्थाहरु संयुक्त रूपमा आयोजक रहने छन्।
यसमा कसैलाई पनि निःशूल्क हुने छैन कार्यक्रम हल भित्र प्रवेशको लागि  मुख्य संयोजकदेखि हरेक क्षेत्रका  संयोजक र हरेक स्वमसेवकहरुलाई समेत अनिवार्य टिकटको आवश्यकता पर्नेछ।
यसरी हाम्रा बाबाआमा रोइरहेका बेला हाम्रा भाइबहिनी स्कुल बिहिन भइरहेका हाम्रा छोराछोरीहरु भबिष्य बिहिन भइरहेका बेला जुटेका हाम्रा हातहरुलाई सफल बनाउन हाम्रा पीडाहरू बिर्साउन र देशका लागि प्रवासबाट केही योगदान गर्न युएईमा रहेका आम नेपालीहरुलाई आगामी जुन १२ तारिखमा हुने यस कार्यक्रममा उपस्थित हुन हार्दिक अपिल गर्दछौं।
कार्यक्रममा संकलित सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गराउने समेत प्रतिबद्धता व्यक्त गर्दै सबैको उत्साहजनक उपस्थितिको आशा गर्दछौं।
(लेखक अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईका अध्यक्ष तथा यस कार्यक्रमका कलाकार संयोजक हुन्) 
साभार : सेतोपाती