पुरुषकै कारण लाग्छ पाठेघरको क्यान्सर

क्यान्सरका कारण श्रीमतीको निधन भएपछि नुवाकोट त्रिशुलीका कुमार अधिकारी आफुलाई पनि क्यान्सर हुन्छ कि भन्ने आशंकामा नियमित स्वास्थ्य जाँच गराउनुहुन्छ । क्यान्सरले थलिएकी श्रीमतीको मंसिर ९ गते निधन भएपछि उहाँ शोकसँगै सचेत बन्नुभएको हो ।
उहाँ जस्तै दोलखाकी पवित्रा कार्की पनि क्यान्सरबारे निकै सचेत हुनुहुन्छ । त्यसैले उहाँ नियमित स्वास्थ्य जाँच गराउन अस्पताल जानुहुन्छ । तर सबैजना क्यान्सरबारे सचेत छैनन् । यस्तै मध्येमा पर्नुहुन्छ, ललितपुर ईमाडोलकी निरु थापा । क्यान्सर कसरी लाग्छ र लागेपछि के गर्नुपर्छ भन्ने बारे आफूलाई केही थाहा नभएको उहाँ बताउनुहुन्छ ।
थापा जस्तै अधिकांश अझै पनि क्यान्सरबारे अनविज्ञ छन् । रोगबारे जानकारी नहुनु, अस्वस्थ्य खानपान र अव्यवस्थित जीवनशैलीका कारण नेपाल सहित विश्वभर अहिले क्यान्सरका बिरामी बढ्दै गएका छन् ।
के हो पाठेघरको क्यान्सर

पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखमा नियन्त्रण भन्दा बढी कोषीकाहरु वृद्धि भएपछि क्यान्सर  हुन्छ । डाक्टरहरुका अनुसार पाठेघरको मुखको क्यान्सर हुने कारण यहि हो भन्ने नभएपनि यसको मुख्य कारक तत्व भाइरल संक्रमण हो । डाक्टर रश्मी पुन गुरुङका अनुसार पाठेघरको क्यान्सर शारीरिक सम्पर्क गरेरकाहरुलाई हुन्छ ।
शारीरिक सम्पर्कका बेला केटा मान्छेबाट आउने ह्युमन पापिलोमा नामक किटाणुका केही प्रजातिका कारण  पाठेघरको मुखमा क्यान्सर हुन्छ । ‘यो ईन्फेक्सन केटाबाट केटीमा सर्छ त्यसैले शारीरिक सम्पर्क गर्दा ध्यान दिनुपर्छ, धेरै जनासँग सम्पर्क राख्ने केटासँग सम्बन्ध राख्नुहुँदैन’ डाक्टर रश्मी पुन गुरुङले भन्नुभयो ।
शारीरिक सरसफाईमा ध्यान नदिनाले र धैरैसँग सम्पर्कमा आउनेलाई यो क्यान्सर लाग्ने डाक्टर गुरुङले बताउनुभयो । धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्‍याउने उहाँले बताउनुभयो ।
खतरा कसलाई

*   शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लाग्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिला, जसको विहे भैसकेको छ ।
*   धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई ।
*   यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई ।
*  लोग्नेको अर्की श्रीमती पनि छन् र उनलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने पनिसर्न सक्छ ।
*   जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खतरा बढी हुन्छ ।
लक्षण

पाठेघरको मुखको क्यान्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ ।
*   गन्हाउने पानी बग्ने
*    संक्रमण भैरहने
*    रगत मिसिएको पानी बग्ने
*    महिनावारी  नभएको बेलामा पनि रगत देखिने, महिनावारी रोकिएपछि पनि फेरि रगत देखिने
*    पेट फुल्ने
*    खुट्टा सुन्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा समस्या देखिने ।।
कसरी बच्ने ?

पाठेघरको मुखको क्यान्सर हुन नदिन बेला बेलमा प्याप स्मेयर जाँच गराउनु पर्छ । प्याप स्मेयर एउटा यस्तो विधि हो, जसमा पाठेघरको मुखमा आएका खराबीलाई थाहा पाई भविष्यमा खतरा छ कि छैन पत्ता लाग्छ ।
यो विधिले पाठेघरको मुखमा संक्रमण भएकोबारे बेलैमा थाहा पाउने भएकाले उपचारमा सहज हुन्छ । डाक्टरका अनुसार यो पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ छैन भन्ने पत्ता लगाउने सरल र सहज विधि हो ।
यौन सम्पर्क गरेका, धेरै बच्चा जन्माएका, धेरै जनाको सम्पर्कमा रहेका, महिनावारी बन्द भएका र क्यान्सरको सम्भावना भएर अपरेशन गरेका महिलाले पाठेघरको मुखको परीक्षण गराए क्यान्सर लाग्ने सम्भावना कम हुने डाक्टर बताउँछन् । यस्तै सुरक्षित यौन सम्पर्क गरे पनि यसबाट जोगिन सकिन्छ ।