पाकिस्तानी जासुसी परेवा भारतीय प्रहरीले कब्जामा लिएपछि

patankot_Pigonमिडिया एनपी, काठमाडौं, १४ जेठ । पाकिस्तानी जासुसी परेवालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । पाकिस्तानबाट पठाइएको जासुसी परेवालाई भारतको पञ्जाब प्रहरीले समातेको छ । परेवाको एउटा पखेँटामा मोबाइल नम्बर र उर्दु भाषामा सन्देश लेखिएको अनलाइन पत्रिका हिङलिश न्यूज डटकमले जनाएको छ । परेवाको पखेँटामा त्यस्तो सन्देश पाएपछि भारतीय प्रहरी आश्चर्यमा पर्दै सन्देशको अर्थ र मोबाइल नम्बरबारे प्रहरीले अनुसन्धान थालेको छ ।
यद्यपी मनवालस्थित रमेश कुमार नाम गरेका व्यक्तिको घरमा सो परेवा अचानक आएको उक्त अनलाइन पत्रिकाले उल्लेख गरेको छ । सो पत्रिकाका अनुसार रमेशले जब परेवाको पखेँटामा केही लेखिएको देखेपछि तत्काल पक्रेर प्रहरीलाई खबर गरेका थिए । परेवालाई पाकिस्तानको नारोवाल जिल्लाको शंकरगढबाट छोडिएको बुझिएको छ ।