भ्रमपूर्ण समाचार सामाजिक सञ्जालमा पोष्ट नगर्न प्रहरीको अनुरोध

काठमाडौँ, बैशाख ३१–महानगरीय प्रहरी अपराध महाशाखाले तथ्यहीन, भ्रमपूर्ण समाचार सामाजिक सञ्जालमा पोष्ट, सेयर तथा लाइक नगर्न इन्टरनेट प्रयोगकर्तालाई आग्रह गरेको छ ।nepali police logo
महाशाखाले मुलुक भूकम्पका कारण समस्यामा परेको र पटक–पटक पराकम्पन गइरहेको सन्दर्भमा अनावश्यक हल्ला तथा तथ्यहीन समाचारले जनजीवन थप आतङ्कित भएको भन्दै सो आग्रह गरेको हो ।
गलत समाचार कहीँकतै आएमा त्यस्ता समाचार पोष्ट नगर्न तथा लाइक र सेयर नगर्न÷नगराउनसमेत महाशाखाले आज एक विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
यस्तै, महाशाखाले आजै भूकम्पपीडित जनतालाई नकारात्मक भ्रम र अफवाह सामाजिक सञ्जाल ट्वीटरमार्फत फैलाएको भन्दै डा सुनिल सिटौलालाई तत्काल आफ्नो पोष्ट हटाउन लगाइएको जनाएको छ । महाशाखाले गलत सन्देश प्रवाह गर्ने जो कोहीलाई नियमअनुसार कारबाही गर्ने जनाएको छ ।