राहतका नाममा भारतले दिएका थोत्रा कपडा फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, २३ वैशाख । भूकम्पपीडितको सहायतार्थ भारतबाट प्राप्त २२ पोका थोत्रा लुगा वितरण नगर्न गृह मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भारतबाट प्राप्त २२ पोकाका लुगा प्रयोग भैसकेको पाइएकोले ती वितरण नगर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

दैवीप्रकोपमा परेका पीडितलाई पुराना लुगा दिँदा राम्रो सन्देश नगएकाले त्यस्ता थोत्रा कपडा सहायताका नाममा उठाउन र वितरण गर्न विगत दुई वर्षदेखि बन्द गरिएको बताउनुभयो ।
“बाढी पीडित, भूकम्पपीडितलाई थोत्रा कपडा सहयोग गर्न पार्इँदैन, यो काम दुई वर्षदेखिनै बन्द भएको छ, त्यसैले भारतबाट प्राप्त त्यस्ता कपडा फिर्ता पठाइदिन भनेको छौँ,” प्रवक्ता ढकालले भन्नुभयो ।
नेपालमा भारतको मनोमानी बढेपछि आफ्नो चर्काे आलोचना भएको भन्दै गृहमन्त्री बामदेव गौतमले कपडा फिर्ता गरेर भारतविरुद्ध एक्सन लिन सुरु गरेका हुन् ।
अब केही दिनभित्रै भारतीय सेनालाई पनि फिर्ता पठाउन गृहमन्त्रालयले वातावरण मिलाइरहेको स्रोतले बतायो । रासस
दैनिक नेपाल बाट