उद्धार गर्दा गर्दै गए युवा संघका राजेन्द्र मृत अवस्थामा भेटिए ।

साँखु (काठमाडौं), जेष्ठ १७ - शनिबार बिहान साँखुका बकुनारायण श्रेष्ठको भत्केको घरको भग्नावशेष सफा गर्ने काम भइरहेको थियो । त्यही घर सफा गर्ने क्रममा यता उता गर्दै थिए एक युवा । कहिले काम अह्राउदै थिए, कहिले आफैं काममा खटेका थिए ।
बखुनारायणको २० वर्ष पुरानो पक्की घर ढल्यो । पक्की घरसँगै रहेको उनैको कच्ची घर पनि ढल्यो, जुन १९९० सालको भुइचालोमा जोगिएको थियो । यही घरसंगै जोडिएको राजेन्द्र श्रेष्ठको घर पनि आंशिक रुपमा चर्क्यो । बुबालाई इँटाले लाग्यो । उनी तिनै राजेन्द्र थिए, जो एमालेको भातृसंगठन राष्ट्रिय युवा संघका उपत्यका अध्यक्ष हुन् । उपत्यकाका उनी यो क्षेत्रमा पार्टीले सुरु गरेको घर भत्काउने र टहरा बनाउने कामको अगुवाइ गर्दै थिए अध्यक्ष भएको हैसियतले ।
आफ्नो घरको पानी ट्याङकी सफा हुँदै थियो । उनको घर बन्दै थियो । दुई महिनापछि उनको पानी ट्याङकी सफा गर्न खोलिएको थियो । गोकर्णका शिवराम श्रेष्ठ सफा गर्न गएका थिए । उनी भित्र बेहोस भए । उनलाई उद्धार गर्न राजेन्द गए । 'ट्याङ्की गहिरो त होइन । अक्सिजन कमी भयो कि के भयो,' स्थानीयवासी महेन्द्रलाल श्रेष्ठले भने, 'दुबै जना ट्याङकीमै मृत अवस्थामा भेटिए ।'
३६ वर्षे राजेन्द्र भूइँचालो गएदेखि नै राहत र उद्धारमा खटिएका थिए । उनी साँखुका निकै सक्रिए थिए । भूइँचालो आएको पहिलो दिन बेलुका बजारबाट एकजना महिलाको शव निकालियो । त्यसलाई व्यस्थापन गर्न महेन्द्रलाल, राजेन्द्र लगायत युवा खटे । त्यतिबेला उद्धार गर्न कोही पुगको थिएन । सबै डराएका थिए । भोलिपल्ट पनि राजेन्द्र लगायत ५ जनाको टिम उद्धारमा सक्रिए भयो । दोस्रो दिन २१ जनाको सव भेटियो । सबैलाई एकै चितामा जलाइयो । पछि सेना, प्रहरी लगायत उद्धार टोली आयो । उनीहरुले यहाँ मात्रै ४७ जनाको शव भेट्यो । 'सबै डराएको बेला हामी खट्यौं, महेन्द्रले भने, 'के गरौं गरौं भनेर उत्साहित भइराख्ने एकजना होनाहार युवा थियो । एक जनालाई उद्धार गर्न जादा उनको पनि ज्यान गयो ।'
राहत र उद्धारका काममा सक्रिय भइरहेको बेला पार्टीले चर्किएका घर भत्काउने र नयाँ टहरा बनाउने नीति लियो । त्यसका लागि पार्टी र भातृसंगठनलाई पनि परिचालन गर्‍यो । त्यही क्रममा युुवा संघको तर्फबाट साँखु क्षेत्रमा पुराना घर भत्काउने र टहरा बनाउने काममको संयोजकको जिम्मेवारी उनले पाएका थिए । उपत्यकाकामा बढी क्षति भएको क्षेत्रमध्येमा पर्छ साँखु । यहाँका १ हजार १ सय घरमध्ये ८ सयमा पूर्ण क्षति भएको छ । बाँकी ३ सयमा पनि आंशिक क्षति पुगेको छ ।
श्रेष्ठको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । एमाले बरिष्ठ नेता झलनाथ खनालले श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाए ।