पाँच लाखमा बन्यो सुन्धारामै १२ फिटको फुच्चे धरहरा


काठमाडौँ, असार ६ - पाचँ लाख खर्च गरेर काठमाण्डौको सुन्धारा चोकमा १२ फिट अग्लो फुच्चे धरहरा निर्माण भएको छ । वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको ७.८ रेक्टर स्कलेको भूकम्पले २ सय ३ फिटभन्दा अग्लो धरहरा एकतलामात्र रहने गरी ढलेपछि सुन्धारा नै नरमाइलो भएको थियो ।

अब त्यसको चिनोस्वरुप त्यसतर्फ जादा चित्त बुझाउने बाटोका रुपमा सुन्धारा चोकमा सानो धरहरा बनाइएको हो । ठ्याक्कै धरहरा जस्तै देखिने फुच्चे धरहरा मेलम्ची घर भएका राजकुमार तामाङले बनाएका हुन् ।

१२ फिट अग्लो यो धरहरा बनाउन पाँच लाख खर्च भएको उनले बताए । क्यास्ट्रोल लुब्रिकेन्ट्सले लगानी गरेको यो धरहरा बनाउन तामाङलाई १४ दिन लागेको थियो ।

उनका अनुसार यसभित्र तीन वटा रड प्रयोग गरिएको छ। फुच्चे धरहराको मुनि हात्तीपाइले (ढलान गर्दा गिट्टी, सिमेन्ट र बालुवाको घोल प्रयोग गरी हात्तीको पाइला जस्तै ठूलो बनाइएको आधार) पनि राखिएको छ ।