News
»
परिवारका सबै सन्तान दृष्टिविहीन हुँदा समस्या
परिवारका सबै सन्तान दृष्टिविहीन हुँदा समस्या
धादिङ, माघ ११– धादिङको खाल्टे गाउँ विकास समितिको एक परिवारका सबै सन्तान दृष्टिविहीन भएपछि उनीहरुको परिवारलाई समस्या पर्दै आएको छ । परिवारका सबै सदस्य दृष्टिविहीन भएपछि आफुहरु बिचल्लीमा परेको खाल्टे गाविसको डाँडागाउँका विनोद ग्यामी मगरले बताए ।
सामान्य परिवारका ३५ वर्षीय विनोद मगरका तीनजना बालबच्चा सबै दृष्टिविहीन छन् । १५ वर्षीया छोरी बिना, १४ र १२ वर्षका छोरा रोशन र सुजन सबै दृष्टिविहीन हुन् भने बिना मगर र रोशन त बोल्न पनि सक्दैनन् ।
तीनवटै सन्तानको यस्तो अवस्था भएपछि कमजोर आर्थिकस्थिति भएको मगर परिवारले सहयोगका लागि अनुरोध गरेको छ । सामान्य होटल चलाएर जीविका चलाउँदै आएका मगर परिवारलाई अहिले आफ्नो बालबच्चाको भविष्यको चिन्ताले सताइरहेको छ । आफ्नो हात खुट्टा चलुन्जेलसम्म त लालनपालन गरौँला तर आफुहरुले काम गर्न नसक्दा के गर्ने होला भन्ने कुराले आफुहरुलाई सताइरहेको मगर दम्पतीले गुनासो गरे ।
यसैगरी, कल्लेरी गाउँ विकास समितिका राम लक्ष्मण रेग्मी परिवारको अवस्था पनि उस्तै छ । एकै घरका चारजना सदस्य दृष्टिविहीन छन् भने दुईजना शारीरिक रुपमा अपाङ्गसमेत रहेका छन् ।
उनीहरुले आफ्नो बच्चाको शिक्षाका लागि सरकारलाई सहयोग गर्नसमेत आग्रह गरेका छन् । सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम र विभिन्न सङ्घसंस्थाले गर्ने नाम मात्रका कार्यक्रमले उनीहरुलाई कुनै प्रभाव पार्न नसकेको दृष्टिविहीन परिवारले बताएका छन् । रासस