हात्तीले घर भत्काइदियो, पुरुषको शव फेला

पर्सा, फागुन ११–पर्साको ठोरीमा गएराति आएको जङ्गली हात्तीले एक घर भत्काइदिएको छ । ठोरी गाविस–३ सरस्वती नगर बस्ने लालबहादुर स्याङतानको घर भत्काइ दिएको हो । गाविसको वडा नम्बर– ५ हनुमाननगरबाट गाउँ पसेको हात्तीलाई स्थानीय र इलाका प्रहरी कार्यालय ठोरीका प्रहरीले धपाउने क्रममा वडा नम्बर– ३ मा लालबहादुर स्याङतानको घर भत्काइ दिएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । राति अबेरसम्म स्थानीय र प्रहरीले हात्तीलाई धपाउने प्रयास गर्दा पनि बिहानी पख मात्र हात्तीलाई जङ्गलतर्फ लखेट्न सफल भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । यसैबीच, पर्साको जीतपुर गाविस–२ परसवामा रहेको बाँध नजिक आज बिहान एक पुरुषको शव फेला परेको छ । लङ्गडी गाविस–४ का ४० वर्षीय धनई सहनीको घाँटीमा गम्भीर घाउ लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । बिहान शौच गर्न गएका स्थानीयवासीले बाँध नजिक शव देखेर प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय सेढवाको प्रहरी टोली घटनास्थलमा पुगेका थियो । शवको नजिकै एउटा साइकल, एक थान माइक्रोफोन र एउटा डायरी पनि भेटिएको र त्यही आधारमा मृतकको पहिचान भएको प्रहरी नायब निरीक्षक परमानन्द यादवले बताए । साइकलमा सवार रहेका सहनीलाई कुनै सवारीसाधनले ठक्कर दिएपछि नहरको बाँधमा खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । मृतकको शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए । यता, घटनाको विरोधमा स्थानीयवासीले प्रदर्शन गरेका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न र क्षतिपूर्तिको माग गर्दै लङ्गडीवासीले लङ्गडीचोकमा प्रदर्शन गर्दै सडक जाम गरेका छन् । source--ratopati