दिलु पन्तलाई कारबाही गर्ने युवा संघको चेतावनी

Niru-pal-Dilu-panta
  • दिलु पन्त र निरू पाल
११ फागुन, काठमाडौ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको केन्द्रीय समितिको संस्थापन पक्ष र असन्तुष्ट पक्षको बैठक बस्दैछ ।
निरु पाललाई अध्यक्ष बनाएपछि युवा संघमा किचलो सुरु भएको हो । तत्कालीन अध्यक्ष महेश बस्नेतले उमेर हदका कारण राजीनामा दिएपछि पाललाई अध्यक्ष बनाइएको थियो ।
तर, उपाध्यक्ष दिलु पन्त पक्षले विरोध गरेको छ । अध्यक्षसहितका पदमा भएको नियुक्ति विधान विपरित भएको भन्दै विरोध गरेको असन्तुष्ट समूहले सोमवार नै छुट्टै वैठक बोलाएको छ ।
संस्थापन समूहको वैठक नयाँ बानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा दिउँसो १२ बजे बस्नेछ भने असन्तुष्ट पक्षको वैठक पनि नयाँ बानेश्वरकै अर्याल होटेलमा बस्दैछ । संस्थापन पक्ष एमाले अध्यक्ष केपी ओली पक्षमा छन् भने असन्तुष्ट पक्ष नेता माधवकुमार नेपाल पक्षका हुन् ।
संघको संस्थापन पक्षको केन्द्रीय समितिको वैठकको उद्घाटन स्थायी समिति सदस्य शंकर पोखरेलले गर्दैछन् भने असन्तुष्ट पक्षको वैठकको उद्घाटन एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले गर्ने कार्यक्रम छ ।
असन्तुष्ट पक्षलाई कारबाहीको तयारी
युवा संघको संस्थापन पक्षले असन्तुष्ट समूहको माग अनुसार नै बैठक बोलाइएको र उनीहरुलाई समेत आउन भनिएको बताएको छ । तर, बैठकमा नआए कारबाही गर्ने तयारी छ ।
बैठकमा सहभागी भई आफ्ना असन्तुष्टी राख्ने आग्रह गरिएकोले वैठकमा नआउने र छुट्टै समानान्तर कमिटी बनाउनेलाई कारबाही गरिने संघका संस्थापन पक्षका नेता प्रभात कटुवालले जानकारी दिए ।
संघको वैठकले विभिन्न संगठन तथा अभियानहरु सञ्चालन गर्नेबारेमा निर्णय गर्नेछ । संघका नेता कटुवालका अनुसार संगठन विस्तारका कार्यक्रमहरु सञ्चालन गर्नेबारेमा निर्णय गर्नुका साथै संविधान निर्माणका लागि दवाव अभियान तथा देशमा बढ्दै गएको महिला हिंसा विरुद्धमा आन्दोलनको कार्यक्रमहरु अगाडि बढाउनेबारेमा निर्णय गर्नेछ ।
संघको निर्वाचित १३५ केन्द्रीय समितिमा पछि मनोनित गरिएको गरी हाल १८१ जनाको केन्द्रीय समिति छ ।
असन्तुष्ट पक्षले भने पन्तलाई अध्यक्ष बनाउनेसहितका निर्णय फिर्ता नलिए सामानान्तर संगठन बनाउने  घोषणा गर्ने जनाएको छ । राजीनामा दिएकै ब्यक्तिको अध्यक्षतामा बसेको बैठकले आफूखुशी अध्यक्ष घोषणा गर्ने काम गरेको असन्तुष्ट पन्त पक्षको आरोप छ ।