श्वेताले भनिन्- बेलैमा बिहे गरेको भए हुन्थ्यो जस्तो लाग्छ
११ फागुन, काठमाडौं । पति श्रीकृष्ण श्रेष्ठको निधनपछि शोकमा रहेकी नायिका श्वेता खड्काले आगामी दिनमा दुःखीको सेवा गर्ने इच्छा व्यक्त गरेकी छन् ।
तर, विवाह भएको एक महिना नपुग्दै पतिलाई गुमाएकी श्वेता अझै गहिरो शोकमा छिन् । पतिको निधनपछि झण्डै चार महिना ओछ्यानमा थलिएकी श्वेतामा अहिले ढाडको नाशामा समस्या देखिएको छ । बीबीसी नेपाली सेवाका लागि सुमन खेरलसँग कुराकानी गर्दै श्वेताले भनिन्-‘अहिले आफैंले औषधि खाइरहेको छु । मलाई अझै केही समय लाग्छ ।’
पतिको निधन भएपछि पहिलो पटक सञ्चार माध्यममा आएकी श्वेता खड्का कुराकानीका क्रममा अधिंकाश समय रोइरहेकी थिइन् । उनका अनुसार विवाह हुनुभन्दा एक साताअघिदेखि नै श्रीकृष्णमा सुख्खा खोकी देखिएको थियो । विवाह गरेपछि एक अर्काको हेरचाह राम्रो हुन्छ भन्ने लागेर परिवारको अग्रहमा विवाह गरेको उनले सुनाइन् ।
उनले भनिन्-तर, विवाह भएको दुई दिन मात्र हामी घरमा सँगै बस्यौं होला । त्यसपछि अस्पतालमा गयौं ।’ विवाह गर्दा के सपना थियो भन्ने प्रश्नमा उनले विवाह पछि आफूमा भन्दा परिवारमा सुखी, सम्पत्ति, बालबच्चाको सपना थियो होला भनिन् । उनले भनिन्-‘तर सहनै नसक्ने पीडा भएपछि आजसम्म मैले केही सोच्न सकेकी छैन, जीवनले कुन मोड लिन्छ ।’
प्रत्येक पटक अब केही गर्छु भनेर कोशिश गरे पनि नसकेको उनले सुनाइन् । शोकलाई शक्तिमा बदलौं र केही गरौं भन्ने लाग्दैन भन्नेमा उनले भनिन्-‘कमजोर, दुःखी प्रति केही गरौं भन्ने लाग्छ । तर मलाई समय लाग्छ ।’
आफू बाल्यकालबाट अरुको दुःख देख्न नसक्ने स्वभावकी भएको भन्दै उनले अब त्यसकै लागि काम गर्न प्रयास गर्ने बताइन । नेपाली फिल्मले नै आफूलाई नायिका श्वेता खड्का भनेर चिनाएको भन्दै उनले सामाजिक फिल्महरु बनाउने लक्ष्य रहेको बताइन् ।
दोष कसलाई दिनुहुन्छ भन्ने प्रश्नमा श्वेताले भनिन्-कसलाई दोष दिउँ ? सुरुमा उपचारमा केही गलत गर्यो कि जस्तो लाग्थ्यो । कहिले मेरो भाग्य नै यस्तो रहेछ भन्ने पनि लाग्छ । भगवानले नै गरे ।’ यसअघि आफूलाई भगवानमाथि विश्वास लाग्ने गरेको र श्रीकृष्ण विरामी हुँदा धेरै ब्रत बसेको सुनाउँदै उनले भनिन्-‘तर, अहिले भगवान भन्ने हामीले मान्ने मात्र हो जस्तो लाग्छ ।’
जीवन के रहेछ भन्ने प्रश्नमा उनले सुरुमा आफूलाई राम्रो फुल जस्तो लागेको सुनाइन् । उनले भनिन्-‘तर, बाँच्नु नै जीवन रहेछ ।’
कुराकानीको अन्तिममा नायिका श्वेता खड्काले समयलाई चिनेर समयमै विवाह गरेको भए हुन्थ्यो भन्ने लोगेको बताइन् ।
कुराकानीको अन्तिममा नायिका श्वेता खड्काले समयलाई चिनेर समयमै विवाह गरेको भए हुन्थ्यो भन्ने लोगेको बताइन् ।