'नक्कली बिहे' गरी बेच्ने प्रयास

ओखलढुंगा , फाल्गुन ७ - दलालको फन्दाबाट उम्किएर आएकी च्यानमकी एक महिला विक्षिप्त अवस्थामा बुधबार महिला तथा बालबालिका कार्यालयमा आइपुगेकी छन् । २१ वर्षकी विवाहित उनी आफू बेचिन लागेको थाहा पाएपछि दलालको फन्दाबाट भागेर कार्यालयको सम्पर्कमा आएकी हुन् । 
'आफ्ना पीडा सुनाउँदै गर्दा बेहोस भएर ढल्ने अवस्थामा उनी कार्यालयको सम्पर्कमा आएकी छन्,' महिला विकास अधिकृत प्रबला श्रेष्ठले भनिन्, 'मानसिक तनावमा छिन्, स्वास्थ्य अवस्थासमेत कमजोर भइसकेको रहेछ ।' परिवारका सदस्यसहित आफू बेचिनबाट बचेर आएको भन्दै कार्यालयमा आइपुगेकी महिला आफ्ना पीडा भन्दै गर्दा बेहोस भएर ढलेकी थिइन् ।
उनलाई छिमेकी महिलाले ललाई फकाई अर्कैसँग विवाह गर्ने योजना बनाएर केही दिनअघि रातको समयमा घरबाट भगाएर एक अपरिचित पुरुषको साथमा काठमाडौं पुर्‍याएकी थिइन् । काठमाडौंमा पुगेपछि बेचिन लागेको थाहा पाएर भाग्न सफल भएको पीडित महिलाले बताएकी छन् । 'जुन पुरुषले मलाई आफ्नी श्रीमती भन्दै लग्यो,' उनले गहभरि आँसु पार्दै भनिन्, 'उसैले ४ लाखभन्दा कममा हुँदैन, केटी च्वाँक छे भन्दै फोनमा कुरा गरेर मोलमोलाई गरेको सुनेपछि म भागें ।' 
उनको भनाइअनुसार छिमेकीले पतिको पनि आयस्तर राम्रो नभएको भन्दै ललाई फकाई विवाह गरिदिने भन्दै रातको समयमा केटो बोलाएर टीका लगाई भगाएका थिए । उनी बेखबर भएपछि घरपरिवारले खोजी गरिपाऊँ भन्दै प्रहरीलाई गुहारेका थिए । 'मानसिक स्वास्थ्यमा समस्या देखिएकाले तत्काल उनको उपचारका लागि पहल गर्नुपर्छ,' महिला बेचबिखन नियन्त्रण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले भने, 'ललाई फकाई बेच्न तयार पार्नेहरूविरुद्ध कानुनी कारबाही गरिनेछ ।' उनका आफन्तले भने तत्काल दोषी पत्ता लगाई कानुनी कारबाहीको माग गरेका छन् ।