वैदेशिक रोजगारी लागि आकर्षक पाँच गन्तव्य

काठमाडौं : नेपालबाट वैदेशिक रोजगारीमा जान पाँचवटा आकर्षक गन्तव्य मुलुक पहिचान गरिने भएको छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको बैठकले गठन गरेको उच्चस्तरीय समितिले यस्ता मुलुकको पहिचान गर्ने भएको हो। वैदेशिक रोजगार प्रवद्र्धन तथा व्यवस्थापन उच्चस्तरीय समितिले यसका लागि कामसमेत सुरु गरिसकेको छ। राजधानीमा आइतबार पत्रकार सम्मेलनमा नयाँ श्रम बजारको प्रवद्र्धन तथा पुरानो बजारलाई सुरक्षित बनाउन उच्चस्तरीय समितिले काम सुरु गरेको जानकारी दिइयो। समितिले प्रथम चरणमा कम्तीमा पाँचवटा अधिक सम्भाव्य गन्तव्य मुलुकको पहिचान गरी ती मुलुकमा रहेका नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघको सहयोगमा आवश्यक जानकरी संकलन गर्ने र त्यसको आधारमा सम्बद्ध सरकारी निकायसँग छलफल गरी काम अघि बढाउने भएको छ। उच्चस्तरीय समितिका संयोजक डा. हरि लम्सालले आकर्षक गन्तव्य मुलुक पहिचान गर्न बाँकी रहे पनि तत्काल पोर्चुगल, क्यानडा, अस्ट्रेलियालगायतका देश आकर्षक मुलुकका रूपमा देखिएको बताए। समितिले गैरआवासीय नेपाली संघ, वैदेशिक रोजगार व्यवसायी संघ, ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञलगायतसँग छलफल गर्ने जनाइयो। साथै समितिले सम्भाव्य नयाँ गन्तव्य मुलुकमा आवश्यक जनशक्तिको पहिचान गरी यस्तो जनशक्ति रोजगारीका लागि पठाउन केकस्ता आवश्यक आधारभूत तयारी गर्न आवश्यक हुन्छ, त्यसबारे सम्बन्धित सरोकारवालासँग छलफल आयोजना गर्ने भएको छ। समितिले हालका गन्तव्य मुलुकमध्ये बढी श्रमिक गएका मुलुकमा नेपाली श्रमिकलाई बढी सुरक्षित गर्ने सम्बन्धमा अध्ययन गर्ने पनि जनाइयो। साथै वैदेशिक रोजगारमा जान चाहने नेपाली नागरिकको सीप, दक्षता, योग्यता, उमेरलगायतका विवरणसहितको तथ्यांक संकलन गर्ने तथा विश्लेषण कार्य अगाडि बढाउने जनाइयो।