एसिडले शरीरमा कस्तो असर पार्छ ? जानी राखे धेरै राम्रो
डा. विवेक सिंह
एसिड प्रहार के हो, यो कसरी हुन्छ ? किन हुन्छ ? यसले शरीरमा कस्तो असर पार्छ ? र, यसलाई रोक्न के गर्न सकिन्छ ?
एसिड प्रहार गम्भीर अपराध हो । एसिड प्रहारलाई घरेलु हिंसाको चरम-सीमाका रुपमा लिने गरिन्छ । धेरै अध्यनमा यस्तो कार्य महिला/किशोरीमाथि हुने गरेको छ । प्रतिशतकै कुरा गर्ने हो भने, ६०-८० प्रतिशत एसिड प्रहार महिला/किशोरीमा भएको पाइन्छ ।
- एसिड पर्नुअघि र परेपछिको अनुहार
एसिडले पार्न सक्ने प्रभाव
धेरैजसो एसिड प्रहारमा सल्फ्युरिक एसिड र नाइट्रिक एसिडको प्रयोग गरिन्छ । सल्फ्युरिक एसिडको अर्को नाम विट्रिओल भएको हुनाले यसलाई विट्रिओल प्रहार पनि भनिन्छ ।
मानिसको अनुहार र त्वचाको आफ्नै महत्व हुन्छ । धेरै मानिसहरु सबैभन्दा धेरै समय आफ्नो अनुहार र त्वचालाई दिने गर्छन् । एसिडले हाम्रो त्वचालाई पूर्ण रुपले नष्ट गर्छ र सधैका लागि अपाङ्ग बनाउँछ ।
एसिड प्रहार कसैलाई मार्नभन्दा पनि कसैको सुन्दरता नष्ट गर्न वा कुरुप बनाउन गरिन्छ। पुरुषप्रधान समाजमा यस्तो प्रहार महिलामाथि हुने गर्छ ।
एसिड प्रहारको उपचार समयमा उचित ढंगबाट नहुँदा मानिसको ज्यानसमेत जोखिममा पर्न सक्छ । एसिड आँखामा परे पुरै दृष्टिविहीन हुन सक्छ । नाकमा परे नाक पुरै नस्ट भएर श्वास-प्रश्वासमा समस्या उत्पन्न गराउन सक्छ । मुखमा परे मुख खोल्न नसक्ने हुन्छ र कानमा परे यसले बहिरो बनाउँछ।
एसिड घाँटी वा मुखभित्र पर्नाले हावा जाने नली, फोक्सो र खाना जाने नलीलाई पुरै नस्ट गर्छ । अरु अंगमा परे अंग पूरै निस्क्रिय हुन्छ ।
एसिडले मानिसलाई शारीरिक मात्रै नभएर मानसिक, सामाजिक र आर्थिकरुपले अशक्त बनाउँछ । धेरैपटक शल्यक्रिया गर्नुपर्ने हुनाले उनीहरु डिप्रेसनमा जाने र आत्महत्या गर्ने गर्छन् ।
संसारभरि हुने अपराध
एसिड प्रहारका धेरै कारणहरु भए पनि धेरैजस्तो एसिड प्रहार माया वा विवाहको प्रस्ताव अस्वीकार नगरेका कारण भएको पाइन्छ । संसारभरि नै यस्ता घटना हुने गरेको पाइन्छ ।
विश्वभर १५ सयभन्दा धेरै महिला/किशोरीमाथि यस्तो आक्रमण हुने गर्छ । दक्षिण एशियामा यस्तो प्रहार धेरै नै हुने गरेको अध्यनले देखाउँछ । बंगलादेश, भारत, पाकिस्तान, चीन, कम्बोडिया लगायत अरु धेरै देशमा पनि यस्ता घटना भइरहन्छन् ।
देशको कानुनी प्रक्रिया र सरकारी निकाय मजबूत नभएकै कारण यस्ता धेरै घटना बाहिर आउन पाउँदैनन् ।
बंगलादेशमा पहिलो एसिड प्रहार सन् १९६७ मा र भारत मा सन् १९८२ मा भएको थियो । बंगलादेशमा १९९९ देखि २०१३ सम्म ३५ सयभन्दा धेरै मानिस यसको शिकार हुन पुगेका छन् ।
भारतमा हरेक वर्ष १ हजार मानिसमा यस्तो प्रहार हुने गर्छ ।
नेपालमा एसिड प्रहार तराई र सीमाक्षेत्रमा भए पनि यसको ठोस तथ्यांकबारे त्यति धेरै अध्ययन भएको छैन ।
चलचित्र र डकुमेन्ट्री
एसिड प्रहारमा आधारित धेरै चलचित्रहरु बनिसकेका छन् । डक्युमेन्ट्री “सेविंग फेस” ले २०१२ सालमा धेरै नै चर्चा पायो । लिजा मिननेल्ली द्वारा अभिनित चलचित्र “टेल मी द्याट यु लव मी, जुनी मून” मा र सर आर्थुर कोनान ड़ोएलेद्वारा लिखित “द एडवेनचर अफ दि इल्लुसट्रीअस क्लायन्ट” मा पनि एसिड प्रहारलाई राम्रोसँग प्रस्तुत गरिएको छ ।
भारतीय चलचित्र जगतमा एसिड प्रहारमा आधारित चलचित्र धेरै आइसकेका छन् । हालै कौन बनेगा कड़ोडपतिमा पनि मेगा स्टार अमिताभ बच्चन र लारा दत्तले पनि यसबारे प्रकाश परेका थिए ।
एसिडबाट बच्न के गर्नुपर्छ ?
केही व्यक्तिहरु एसिडले असर परेको भागमा विभिन्न किसिमको तेल प्रयोग गर्ने गर्छन्, जसले समस्यालाई झन् जटिल बनाउँछ । एसिडले जलेको भागलाई सकेसम्म सफा पानीले पखालिरहनुपर्छ, साथै सफा राख्नुपर्छ र छिटोभन्दा छिटो सम्बन्धित ठाउँमा पुर्याउनुपर्छ ।
एसिडले पुरै छाला नष्ट गर्ने हुनाले बाहिरी किटाणु शरीरभित्र प्रवेश गर्ने हुनाले किटाणुको संक्रमणबाट बचाउन र दुखाइ/पीडा कम गर्न विभिन्न औषधि प्रयोग गरिन्छ ।
हामीले यस्ता घटना रोक्न सर्वप्रथम त हाम्रो समाजलाई शिक्षित बनाउनुपर्छ । हाम्रो समाजको सोचमा परिवर्तन ल्याउनुपर्छ ।
ठोस कानुनी व्यवस्था लागु हुनुपर्छ र ती एसिड प्रहारको सिकार बन्न पुगेका सबैलाई असल परामर्श र प्रहोत्साहन दिनुपर्छ । साथै एसिडको बिक्रीमा नियन्त्रण र कडा निगरानी गरिनुपर्छ ।
एसिड प्रहारका केही कारण यस्ता छन् :
१. बिवाह/प्रेम प्रस्ताव अस्वीकार (सबैभन्दा मुख्य कारण)
२. कसैको सुन्दरता नस्ट गर्न
३. कसैलाई कुरुप बनाउन
४. दाइजोका कारण
५. एउटी महिलाले आफुले चाहेको पुरुषलाई जीवनसाथी बनाउन अर्को महिलामाथि एसिड प्रहार गर्ने, जसलाई फिमेल टु फिमेल प्रहार भनिन्छ ।
६. धार्मिक र राजनीतिक अस्थिरता
७. घर झगडा
८. गुण्ड़ा-गिरोहबीच झगडा (यस्तो प्रहार पुरुषमा धेरै हुने गर्छ)
एसिड प्रहारका दोषीहरु आफुले मनपराएको व्यक्ति नपाउँदा असहनीय भएर, उनीहरु लाई पनि पीडा दिने उद्देश्यले अनुहारमा एसिड प्रहार गर्ने गर्छन्, उनीहरु भन्छन् “म मार्न चाहन्न उनलाई तर तड्पेर मरेको हेर्न चाहन्छु, उनी कुरुप भएको देख्न चाहन्छु, मैले उनलाई पाउन सकिन भने उनलाई कसैको हुन दिन्न ।”
अन्त्यमा,
अहिलेसम्म भइसकेका घटनालाई मेरो लेखको कुनै औचित्य नै नहोला, मेरो लेखले उनीहरुको जीवन फेरि पहिलाझैँ हुन पनि सक्दैन । तर, आज यस्ता घटना रोक्न हामी पछि परेको खण्डमा आउने दिनमा यसले भयानकरुप लिनेछ र यस्ता प्रहार कुनै घटना भएर दिनचर्या हुनेछन् !
मेरो यो लेख कुनै व्यक्ति, जातिलाई लक्षित गरी लेखिएको हैन । यो लेख हाम्रो समाजमा घटिरहेको अमानवीय घटनालाई ध्यानमा राखेर लेखिएको हो । नेपाल आमाको जय !