युवा संसद्ले ल्यायो नमुना संविधान

काठमाडौँ माघ ४ –युवा संसद् नेपाल नामक संस्थाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नमुना संविधान सार्वजनिक गरेको छ । आज यहाँ नमुना संविधान सार्वजनिक गर्दै पूर्वसभामुख दमननाथ ढुङ्गानाले राजनीतिक दलले संविधान बनाउन नसकेकामा युवाहरुले संविधान बनाउनु ठूलो कार्य भएको बताए । उनले महिला, आदिवासी, जनजाति, पिछडिएको क्षेत्रको अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै यसका लागि युवाहरु जागरुक हुनुपर्नेमा जोड दिए । विगतमा धेरै संविधान बनाएको तर टिकाउन नसकेको स्मरण गर्दै अब बन्ने संविधान सबैले हकहित सुनिश्चित हुनुपर्ने खालको आउनु जरुरी भएको उनको भनाइ थियो । संविधानविद् नीलाम्बर आचार्यले समयमा संविधान ल्याउन युवाहरु आफँै जाग्नुपर्ने अवस्था आएको बताए । युवा संसद् नेपालका अध्यक्ष दीवाकर अर्यालले संविधानसभाले संविधान नदिएको अवस्थामा युवाले संविधान दिनु राजनीतिक दलप्रति दबाब भएको बताए । युवा संसद्मा विभिन्न पार्टीमा आवद्ध प्रत्येक निर्वाचन क्षेत्रबाट एक÷एक जनाका दरले २४० र मनोनित ६१ गरी ३०१ जना रहेका छन् । कार्यक्रममा सो संस्थाका सदस्य सीमा लामिछानेले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।