'आमाको नाममा नागरिकता दिने प्रस्तावलाई किन रोके एमाले नेताले ? '

आमाको नाममा नागरिकता दिने प्रस्तावलाई किन रोके एमाले नेताले ?
काठमाडौं,पुस २९ – संविधानका मुख्य विवादमा जस्तै आमाको नामबाट नागरिकता दिने प्रस्तावमा पनि शीर्ष नेताहरुबीच सहमति हुन सकेन । नागरिकतामा बाबु र आमालाई बराबर अधिकार दिन दबाब दिँदै आएका महिलाअधिकारकर्मी सोमबार संवाद समितिको बैठकमा पनि पुुगेका थिए । बैठकअघि अनौपचारिक छलफल गरिरहेका बेला अधिकारकर्मीका कुरा सुनेपछि समितिका सभापति डा. बाबुराम भट्टराईले शीर्ष नेताहरुबीच सहमति भए आफूले प्रस्ताव संविधानसभामा पठाउने स्पष्ट पारेका थिए । लगत्तै सबै दलका नेताहरुले महिलाहरुको प्रस्ताव जायज भएको भन्दै प्रस्ताव संविधानसभामा पठाउन सहमति दिएका थिए । आश्वासनपछि महिलाको टोली हिँड्यो तर अपराह्न बसेको औपचारिक बैठकमा सभापतिले नागरिकतासम्बन्धी व्यवस्था पारित गराउन पढेर सुनाएका थिए । लगत्तै एमाले बरिष्ठ नेता माधबकुमार नेपालले अहिले नगरौं भन्ने लेखेर चिट सभापतिलाई दिए । नेपालसँगै एमालेअध्यक्ष केपी शर्मा ओली र अर्का बरिष्ठ नेता झलनाथ खनालले पनि अहिले नगरौं भनेपछि प्रस्ताव रोकिएको थियो,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।