फ्रेस फेस : स्टेज तताउन मन छ : एन्जिला रेग्मी(भिडियो)

बुटवलकी गायिका एन्जिला रेग्मी ‘एन्जिला’ एल्बम मार्फत बजारमा आउने तयारीमा लागेकी छिन् । कक्षा ४ मा पढ्दा देखि नै गायनमा लागेकी एन्जिलाले आफ्नो जीवनको लक्ष्य नै चर्चित गायिका बन्ने बताइन् ।
घर परिवारको सहयोगका कारण आज उनी गायन क्षेत्रमा अगाडि बढ्दैछिन् । अनलाइनखबरका लागि ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्दै एन्जिलाले आफूलाई परिवारले पैसा लगानी नगरिदिएको भए गायिका बन्न सक्दैनथ्य भन्छिन् । एन्जिलाले भनिन्-‘हो यहाँ प्रतिभा भएर मात्र हुँदैन, पैसा पनि हुनुपर्छ ।पैसा नभएका कारण पनि धेरै राम्रा कलाकार मरेका छन् ।’ राम्रा कलाकारलाई पैसाले मारेको भन्दै उनले चिनजान, निकटताले धेरै फरक पर्ने उनको भनाई छ ।
तर, सधै आफ्नो गोजीबाट मात्र पैसा लगानी गरेर नहुने उनको भनाई छ । एल्बम निकाल्न किन आवश्यक छ, यी १८ बर्षकी नव-गायिकाले भनिन्-‘एल्बमले छिटो बजारमा पुर्‍याउँछ । यसपछि स्टेज, चलचित्र र अन्य कलेक्शन एल्बममा पनि गीत गाउँने अवसर पाइन्छ ।’
एन्जिला आफूलाई आधुनिक मात्र गीत गाउँन मन नलाग्ने बताउँछिन् । उनले आफू भर्सटायल गायिका बन्ने सोचमा रहेको खुलाइन् । उनी कोबाट प्रेरित छिन् त-‘मलाई गायिका इन्दिरा जोशी मन पर्छ । हामी एकै ठाउँका भएकाले पनि उहाँबाट म सानैबाट नजिक छु ।’

इन्दिरा स्टेजमा गायनसँगै शारीरिक हाउभाउले पनि चलेकी छिन् । के उनलाई पनि यस्तै गर्न सक्छु भन्ने लाग्छ त ?-‘पक्कै पनि इन्दिरा जोशी जस्तै बन्नुपर्छ भन्ने छैन । म स्टेज आफ्नै तरिकाले तताउन चाहन्छु ।’
नेपाली सांगीतिक बजारमा प्रवेश गर्ने नयाँ-नयाँ अनुहारमा सबै सफल भएका छन् भन्ने छैन । तर, मिठो आवाज भएका केहीले भने राम्रै धन र चर्चा कमाएका छन् । के एन्जिला यसमा पर्लिन् ?