विदेशी नम्बरबाट जंगली भन्दै कसले दियो शर्मालाई धम्की ?

काठमाडौं, माघ ८ – एमाओवादी सभासद जनार्दन शर्मा ‘प्रभाकर’लाई अज्ञात व्यक्तिले धम्की दिएका छन् । मंगलबार अपरान्ह राजधानीको बिजुलीबजारमा प्रहरीमको लाठीचार्जबाट घाइते भई नर्भिक अस्पतालमा उपचाररत उनलाई अज्ञात व्यक्तिले बुधबार बिहान १ बजेर २५ मिनेट जाँदा विदेशी नम्बरबाट फोन गरी धम्की दिएका हुन् ।

+८१७६०९०८९३ नम्बर बाट फोन गर्ने सो व्यक्तिले मंगलबार बिहानीपख संविधानसभामा भएको नाराबाजीको क्रममा मर्यादा पालकविरुद्ध जाइलागेर आक्रमणमा उत्रिएको आरोप लगाउँदै धम्की दिएका हुन् । ‘जंगली मर्यादापालकलाई हात हाल्ने, तैंले पनि थाहा पाउलास्, तैंले पनि त्यस्तै भोग्नुपर्छ’ भन्दै ति व्यक्तिले धम्की दिएका थिए । परिचय नदिई तथानाम गाली गर्दै धम्की दिएपछि शर्माले ‘मैले के गरेँ नराम्रो ?, म धम्कीसँग डराउने मान्छेपनि होइन’ भन्दै आफ्नो परिचय दिन उनीसँग आग्रह गरेका थिए । तर, उनले ‘म विदेशबाट हो , किन चाहियो परिचय’ भन्दै फोन काटेका थिए । यता शर्माले आफूलाई धम्की आएको जनाकारी दिँदै धम्की दिने सो व्यक्ति पत्ता लगाएर सार्वजनिक गरिनुपर्ने बताएका छन् । अस्पतालको बेडबाट रातोपाटीसँग भने–यस्ता धम्कीबाट म डराउँदिन, हामी जनतको काम गर्नेलाई धम्की आउँछ , तर धम्की दिने को हो त्यसको ढिलो चाँढो पत्ता लगाएर सार्वजनिक गरिनुपर्छ । उनी अहिले नर्भिक अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् । संविधानसभाको मंगलबारको बैठकमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रक्रिया अघि बढाउन खोजेपछि विपक्षीले सुरु गरेको नाराबाजीसँगै शर्मासहितका केहि सभासदहरु सभामुखतर्फ अघि बढ्ने प्रयास गर्दा मर्यादापालकसँग घम्साघम्सी भएको थियो । सो घम्साधम्सीमा तीन मर्यादा पालक घाइतेसमेत भएका थिए ।