मधेसका वालवालिकाका दलालबाट असुरक्षित भारतमा बँधुवा बनाइएका १५ नेपाली बालकको उद्धार
२५ पुस, रौतहट । लोकतान्त्रिक देश भनिने छिमेकी मुलुक भारत नेपाली वालवालिकाका लागि असुरक्षित गन्तव्य ठहरिएको छ । नेपालका चेलिबेटीका लागि मुम्बई र दिल्ली सहर असुरक्षित मानिँदै आएकोमा अब भारतीय सहरहरु नेपाली बालवालिकाका लागिसमेत असुरक्षित देखिन थालेका छन् ।
भारतीय बालगृहमा नेपाली बालक
हालै भारतका विभिन्न ठाउँमा बालश्रमिकका रुपमा कठिन काम गर्दै आएका १५ जना नेपाली बालकलाई जिल्ला बालकल्याण समिति रौतहटले उद्धार गरेर अभिभावकको जिम्मा लगाएको छ ।
भारतीय सहर बैंगलोरमा झोला बनाउने कारखाना र मुम्बईका विभिन्न कारखानाहरुमा जोखिमपूर्ण काममा लगाइएका १० देखि १५ वर्ष उमेरका बालबालिकाहरुलाई उद्धार गरी विहीबार जिल्ला प्रहरी कार्यालय परिसरमा अभिभावकको जिम्मा लगाइएको हो ।
भारत बिहारको मुजफ्फरपुरमा बालगृह सञ्चालन गर्ने जिम्मेवारी पाएको ‘निर्दोष’ नामक संस्थाले उद्धार गरिएका नेपाली बालकहरु आफूसँग रहेको जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालय रौतहट, महिला तथा बालबालिका कार्यालय, जिल्ला बालकल्याण समिति, ग्रामिण विकास केन्द्र, महिला सुरक्षा दबाब समूह र पत्रकारसहितको टोली भारत गएको थियो ।
मुजफ्फरपुरको सिकन्दरावादमा रहेको बाल सुधार गृहमा नेपाली सञ्चारकर्मीसहितको टोली पुगेको देखेपछि बालकहरु डाँको छाडेर रोएका थिए । उनीहरुले आफूहरुलाई छिटो घर पुर्याइदिन बिन्ती गरेका थिए ।
विगत एक महिनादेखि निर्दोष नामक संस्थाको बालगृहमा रहेका अधिंकाश बालकहरुले आफूलाई घर पुर्याइ दिन अनुरोध गरेको दृश्य निकै कारुणिक थियो । त्यहाँ कुल ६५ बालकहरु रहेको र सो स्थानबाट १५ नेपाली बालकलाई उद्धार गरिएको छ ।
बाबुको ऋण तिर्न छोरा भारतमा
उद्धार गरी रौतहट ल्याइएका १५ बालकमध्ये एक बालक हुन् उपेन्द्र कुमार । १२ वर्षका यी बालक विगत एक वर्षदेखि भारतको बैंगलोरमा झोला बनाउने कारखानामा बालमजदुरका रुपमा काम गर्दै आएका थिए ।
रौतहट मन्सरीका यी बालकले ब्याग कारखानाका साहुसँग लिएको ऋण चुक्ता गर्न आफू काममा लाग्न बाध्य भएको सुनाए । ‘बुवाले गाउँकै एकजनासँग १५ हजार ऋण लिनु भएको थियो,’ बालगृहमा उपेन्द्रले नेपाली पत्रकारहरुसँग भने, ‘त्यो ऋण तिर्न म बैंग्लोरस्थित उसको कम्पनीमा पुगें ।’
उनले एक वर्ष काम गरेपछि ऋण चुक्ता गरेको जानकारी दिए । मासिक २ हजार रुपैयाँ पाउने शर्तमा उनले झण्डै एक वर्ष काम गरेका थिए । काम गर्दै गर्दा भारतीय प्रहरीले उद्धार गरेर उनलाई सिकन्दरावाद पठाएको थियो ।
‘पढ्न मन लाग्दैनथ्यो तर अब घर फर्किए पछि म विद्यालय जान्छु,’ आँखाभरि आँशु पार्दै उपेन्द्रले भने, ‘मलाई छिटो घर पुर्याइदिनुस सर, अब म राम्रोसँग पढ्छु ।’ उपेन्द्रलाई विहीबार प्रहरीले अभिभावककोे जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित परिवारसँग पुनर्मिलन कार्यक्रममा उपेन्द्रले अब कहिल्यै भारतमा काम गर्न नजाने बचन पनि दिए । आफू घर पुगेर भोलिदेखि नै विद्यालय जाने पनि उनले बताए ।
बिहान ८ बजेदेखि राति ११ बजेसम्म ब्याग कम्पनीले काम लगाउने गरेको र पैसा, खाना बस्न समेत नदिएर बन्दी जस्तो बनाएको १० वर्षीय बालक मोहमद असलमले बताए । भारतीय भूमिमा पाएको यातनाले अधिंकाश बालक त्रासित देखिन्थे ।
जिल्ला प्रहरी कार्यालयमा बर्षौपछि आफ्ना सन्तानलाई भेटेपछि अभिभावकहरुले पनि आँशु रोक्न सकेनन् । बुवा-आमा र उनका छोराहरु आपसमा अंगालो हालेर रोइरहेको दृश्यले भावुक नहुने सायदै थिए ।
कसरी पुग्छन् नेपाली बालकहरु भारत ?
उपेन्द्रलाई उनकै बुबाले साहुको ऋण तिर्न भारत मजदुरी गर्न पठाएका थिए । आर्थिक स्थिति कमजोर भएकाहरुले यसैगरी आफ्ना कलिला सन्तानलाई काम गर्न भारत पठाउने गर्दछन् । यो एकप्रकारको परम्परा जस्तै भैसकेको छ ।
उद्धार गरिएका १५ जनाको टोलीमा ६ जनालाई अभिभावकले नै गरीबीको चपेटामा परेर काम गर्न पठाएकाहरु थिए । अरु भने राम्रो लाउने र मीठो खाने लोभमा दलालको पञ्जाबाट भारत पुगेका थिए ।
मधेसका बालवालिका भारत लाने गिरोह सक्रिय
तराई मधेसका ग्रामीण र विपन्न समुदायमा बालबालिकाहरुलाई भारत पुर्याउने गिरोह सक्रिय छ । मानव बेचबिखनमा सक्रिय सो गिरोहले ललाई फकाई भारत पुर्याएर बालकहरुलाई स-साना कारखानाहरुमा जिम्मा लगाउँछ र कमिसन खाने गर्छ । उनीहरुलाई अभिभावकहरुसँग सम्पर्क गर्न नदिई राखिन्छ ।
सस्तोमा काम लगाउन पाइने भएकाले ती कारखानाका मालिकले नेपाली बालबालिकालाई नै रोज्छन् । काम गरेवाफत् ती बालकहरुले पाउने पारिश्रमिकको केही रकम दलाल आफैले राख्छन् । थोरै रकम मात्रै तिनका अभिभावकसम्म पुर्याइदिन्छन् ।
त्यही थोरै रकमको लोभ र हातमुख जोर्नुपर्ने बाध्यतामा अभिभावकहरुले आफूले जन्मदिएका छोराछोरीलाई जोखिमपूर्ण काममा लगाउन बाध्य हुने गरेका छन् ।
परिवारजनले पनि गल्ती स्वीकारे
उद्धार गरिएका बालकका अभिभावकहरुले पनि गरिबी र पैसाको लोभका कारण आफ्ना कलिला बालकहरुलाई जोखिमपूर्ण काममा भारत पठाएकोमा आफूहरुलाई पश्चाताप भएको बताए ।
गरीबी र अशिक्षाले आफ्ना सन्तानहरुलाई कामका लागि पठाउनु परेको अभिभावकहरुले बताए ।
भारत वालवालिकाका लागि असुरक्षित मुलुक
त्यसो त भारतीय समाजसेवी कैलाश सत्यार्थीले हालै नोबेल शान्ति पुरस्कार पनि थापेका छन् । उनी बालवालिकाकै क्षेत्रमा काम गर्थे । सत्यार्थीको अभियानले पनि यो सन्देश दिन्छ कि भारतीय भूमि वालवालिकाका लागि सुरक्षित छैन ।
भारतमा नेपालीमात्रै नभई आफ्नै देशका गरीव वालवालिकामाथि समेत भयंकर श्रम शोषण हुने गरेको छ ।
विभिन्न गिरोहले भारतका शहरमा गरीबका छोराछोरीलाई विक्री गर्ने र बँधुवा मजदुर बनाउने क्रममा तराई मधेसका वालवालिका बढी पीडित हुने गरेका छन् ।
