चार गुनाले घट्यो सुन आयात, चाँदी १६७ प्रतिशत बढ्यो

६ माघ, काठमाडौं । नेपालमा बहुमुल्य पहेँलो धातु सुनको आयात करिव चार गुनाले घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आँकडाले यस्तो देखाएको हो ।
Gold-&-Silverचालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १ अर्ब ८१ करोड ४५ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । जुन आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७६.३ प्रतिशतले कमी हो ।
अघिल्लो वर्ष यस अवधिसम्म ७ अर्ब ६६ करोड ७३ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो । त्यतिबेला पनि सुनको आयात १४.७ प्रतिशतले घटेको थियो ।
सुनको मूल्यमा आएको व्यापक उतार-चढावका कारण उपभोक्ता सुन खरिद गर्न डराएपछि आयात घटेको व्यवसायीहरु बताउँछन् । साथै, चीनबाट भन्सार छलेर व्यापक रुपमा भित्राइएको सुनका कारण पनि वैद्यानिक रुपमा सुनको आयात घटेको देखिएको उनीहरुको भनाई छ ।
११ अर्बको चाँदी आयात
चाँदीको आयात भने उच्च दरले बढेको राष्ट्र बैंकको आँकडाले देखाउँछ । पाँच महिनाको अवधिमा ११ अर्ब ५ करोड २३ लाख रुपैयाँ बराबरको चाँदी आयात भएको छ । यो आयात अघिल्लो वर्षको तुलनामा १६७.३ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको पाँच महिनामा ४ अर्ब १३ करोड ४४ लाख रुपैयाँ बराबरको चाँदी आयात भएको थियो । त्यतिबेला पनि चाँदीको आयात १५७.४ प्रतिशतले बढेको थियो । २०६९/७० सालको यही अवधिमा १ अर्ब ६० करोड ६४ लाख रुपैयाँको चाँदी आयात भएको थियो ।