बन्दको क्रममा देशभर कहाँ के भए ? पढ्नुहोस् अपडेट ।
काठमाडौ, पुस २९ - एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन बैद्य नेतृत्वमा रहेको नेकपा-माओवादीको संयुक्त बन्दले उपत्यकासहित देशभरको जनजीवन प्रभावित बनेको छ । बन्दमा उपत्यकामा आज विहानैद...ेखि सवारी चलेका छैनन् । पसल र व्यवसायहरु बन्द छन् । बन्दकर्ताहरु ठाउँँठाउँमा बसेर छिटफुटरुपमा चलेका सवारी आवागमनमा असर पुर्याइरहेका छन् ।
बन्दकर्ताहरु कोटेश्वर, नारायणगोपाल चोक, बानेश्वर, गौशालालगायत स्थानमा बसेर अवरोध पुर्याइरहेका छन् ।
मोर्चा र नेकपा-माओवादीले प्रक्रियामा संबिधान जारी गर्ने नहुने र पहिचानसहितको संघीयताको माग गर्दै बन्दको आह्वान गरेका हुन् ।
बर्दियामा आंशिक प्रभाव
कमल पन्थी
गुलरिया-आन्दोलनमा उत्रेका आफ्ना कार्यकर्ता प्रहरी दमनमा जनकपुरमा मारिएको आरोप लगाउदै ए माओवादी लगायतका तीस दलिय मोर्चाले आहृवान गरेको मधेस बन्दले बर्दियामा आंशिक प्रभाव परेको छ ।
लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका छैनन् । मोटरसाइकल निर्वाध रुपमा चलेका छन् । गुलरिया बजार विहानै देखि खुलेको छ । बन्दको दोस्रो दिन मंगलवार सानोश्री,राजापुर,मैनापोखर,बासगढी,भुरीगाउलगायतका व्यवसाकिय प्रतिष्ठान पनि आशिक बन्द रहेको प्रहरीले जनाएको छ ।
विहानैदेखि राजमार्गलगायत ठाउमा सुरक्षाकर्मी परिचालित भएका छन् । जिल्लाका व्यापारिक प्रतिष्ठानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
रामेछाप पूर्ण वन्द
टीकाप्रसाद भट्ट
मन्थली-ताम्सालिङ वन्दका कारण रामेछापको जनजीवन प्रभावित भएको छ । बन्दको प्रभाव जिल्ला सदरमुकामलगायत विभिन्न वजार केन्द्रमा परेको छ ।
बन्दकर्ताहरुले विहानैदेखि बजारका विभिन्न भागमा नारा जुलुस गर्दै बजार, उद्योग व्यवसाय र यातायात वन्द गराएका छन् । जिल्लाबाट लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन संचालन भएका छैनन् ।
मन्थली स्थित शहिद स्मृति क्याम्पसमा पठन पाठन संचालन भैरहेको वेला पुगेका वन्दकर्ताले प्राध्यापक र विद्यार्थी निकालेर क्याम्पस वन्द गराएका छन् ।
बन्दले सिन्धुलीको जनजीवन प्रभावित
राजकुमार कार्की
सिन्धुली-बन्दका कारण सिन्धुलीको जनजीवन प्रभावित बनेको छ । बीपी राजमार्गमा लामो तथा छोटा दुरीका कुनैपनि सवारी साधन चलेका छैनन् । बन्दका कारण निजी विद्यालयहरुमा चलेको परीक्षा प्रभावित बनेको छ ।
शिक्षण संस्था ठप्प छन् । माढीबजार, ढुंग्रेवास, धुराबजार, मिलनचोक, रातमाटा, भिमान, दुधौली बजार बन्द रहेका छन् । बन्दकर्ताहरु नाराजुलुस सहित चोकचोकमा बसेका छन् ।
बन्दको क्रममा लहानमा झडप
देवनारायण साह
सिरहा-३० दलीय मोर्चाले गरेको मंगलवार दोस्रो दिन दिनको बन्द जिल्लाको जनजीवन प्रभावित भएको छ । मोर्चाको सोमवारको बन्दका क्रममा आपmना कार्यकर्त्ताको जनकपुरमा मृत्यु भएको र लहानमा प्रहरीले गरेको दमनमा पूर्वमन्त्री राजलाल यादवलगायतको कार्यकर्ता घाइते भएको बिरोधमा आज दोस्रो दिन बन्द गराएको छ ।
काठमाडौंबाट पूर्वतर्फ जाने यात्रु बाहक बसलाई गोलबजारबाट स्कर्टिङ गर्दै लहान पुर्याइएपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । आन्दोलनकारीले गाडी रोक्न खोजेको र नरोकेपछि ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको लाठी प्रहारबाट आन्दोलनकारीमध्ये फोरम नेपालका स्थानीय कार्यकर्त्ता प्रयाग यादव र एमाओवादीका राजकुमार साह घाइते भएको छ । उनीहरुको लहान अस्पतालमा उपचार भइरहेको छ ।
बन्दका कारण जिल्लाभरि लामो तथा छोटो दुरीका सवारी साधन बिहानै देखि चल्न सकेको छैन भने शैक्षिक संस्था, बजार, पसल, उद्योगधन्दासमेत बन्द छ ।
नुवाकोट(प्रकाश अधिकारी)-बन्दका कारण नुवाकोटको जनजीवन प्रभावित भएको छ ।
वन्दका कारण पासाङल्हामु मार्गको काठमाडौ-त्रिशूली तथा त्रिशूली-धुन्चे, छहरे-टोखा, देवीघाट-गल्छी सडकमार्गमा लामो तथा छोटो दुरीका कुनै पनि यातायातका साधन सञ्चालन भएनन् । वन्दकर्ताहरु विहानैदेखि विदुर, वट्टार, त्रिशूली, ढिकुरे, देवीघाट मा जुलुश सहित यातायात तथा वजार वन्द गरिरहेका छन् । वन्द सफल गराउन विहानै देखी एकिकृत माओवादीका कार्यकर्ताहरु सडकको चोकचोकमा भेला भएका छन ।
नवलपरासीमा बजार खुल्ला
नारायण शर्मा
नवलपरासी-३० दलीय मोर्चाले आब्हान गरेको बन्दको असर नवलपरासीमा आंशिक रुपमा परेको छ । नवलपरासीका सबै बजारहरु खुलेका छन् भने राजमार्गमा फाट्टफुट्ट सवारी सञ्चालन भइरहेका छन् ।
परीक्षा सकिएका कारण बिद्यालयहरु बन्द रहेपनि कलेजहरु सञ्चालन हुन सकेको छैन् ।
सानागाडी , पर्यटकीय गाडी, दुध र तरकारी बोकेका गाडी यथावत सञ्चालनमा छन् ।
प्रहरीले लामोदुरीका गाडीलाइ स्कर्टिङ्ग गरेर सञ्चालन गर्ने तयारी गरेको छ । ठाउँठाउँमा शसस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । राजमार्गमा बन्दकर्ताको उपस्थिति न्यून छ ।
बन्दले दोश्रो दिन पनि सप्तरीको जनजीवन प्रभावित
जितेन्द्र खड्गा
राजविराज-बन्द सफल बनाउन आज बिहानैदेखि राजविराजस्थित जिल्लाको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरसहितका स्थानमा प्रदर्शन गरिरहेका छन् । उक्त ठाउँहरुमा प्रदर्शनकारी पूर्व पश्चिम सडकमै धर्ना बसेपछि सयौं सवारी साधन गन्तब्य नपुग्दा बाटोमै अलपत्र परेको छ ।
बन्दकै कारण सदरमुकाम राजविराजबाट खुल्ने कुनै पनि किसिमको यातायातका सवारी साधनहरु सञ्चालन हुन सकेको छैन । छिटफुट रुपमा मोटरसाईकल गुडिरहेका छन् ।
कलेजमा तोडफोड, शिक्षकलाई हातपात
अवाधेश झा
विराटनगर-मोर्चाको बन्दको क्रममा विराटनगरस्थित सिटी कलेजमा तोडफोड भएको छ । पार्किङ गरि राखिएको कलेजको बसमा समेत आन्दोलनकारीले ढुंगा हानेर क्षति पुर्याएका छन् । प्लस टुको परीक्षा चलिरहेकोबेला कलेज पुगेका बन्दकर्ताहरुले शिक्षकमाथिसमेत हातपात गरेका छन् ।

