पोखरा फेवातालदेखि शान्ति स्तुपा सम्म केबलकार संचालन हुने

ओएस नेपाल, पोखरा, १२ माघ । पर्यटकीय शहर पोखरामा पनि केबुलकार संचालनमा आउने भएको छ । पोखराको पर्यटकीय स्थल फेवातालदेखि पुम्दीभुम्दीको अनदुडाँडाा रहेको शान्ति स्तुपा सम्म केबलकार संचालनमा आउने भएको छ ।
फेवातालदेखि शान्ति स्तुपा सम्म केबलकार निर्माण प्रक्रिया अगाडी बढाउन सरकारलाई सर्वोच्च अदालतले बाटो खोलिदिएपछि बेलकार संचालन हुने निश्चित भएको हो । केवलकार निर्माण प्रक्रिया रोक्ने रिट निवेदनलाई आइतबार सर्वोच्च अदालतले खारेज गरिदिएपछि सरकारलाई केवलकार निर्माण गर्न बाटो खुलेको हो । यसअघि सर्वोच्चले नै अन्तरिम आदेशमार्फत केवलकार निर्माण प्रक्रिया रोकेको थियो ।
पोखराको केवलकार निर्माण प्रक्रिया रोक्नुपर्ने मागसहित दायर रिट निवेदन न्यायाधीशद्धय वैद्यनाथ उपाध्याय र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले खारेज गरेको सर्वोच्चका सहायका प्रवक्ता बाबुराम दाहालले बताउनुभयो । रिट निवेदन खारेजीसँगै निर्माण कार्य अघि बढाउन मार्ग प्रशस्त भएको उहाँले बताउनुभयो ।
फेवातालको लेकसाइडदेखि विश्व शान्ति स्तुपसम्म केवलकार निर्माणका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयले विभिन्न तीन कम्पनीमध्ये मनकामना दर्शन प्रालिसम्मिलित संयुक्त कम्पनीलाई दिने निर्णय गरेको थियो । त्यस कम्पनीको आशयपत्र स्वीकृत गर्दै मन्त्रालयले २०७० असार १२ गते प्राविधिक तथा आर्थिक प्रस्ताव माग गरेको थियो ।