भेटिएको २५ तोला सुन फिर्ता गरे ट्याक्सी ड्राइभरले

२७ पुस, काठमाडौं । एक ट्याक्सी चालकले आफ्नो गाडीमा भेटिएको २५ तोला सुनका गरगहना फिर्ता गरेका छन् । काभ्रेको नाग्रे गगर्चे गाविस घर भई काठमाडौंमा ट्याक्सी चलाउँदै आएका चुडामणि प्रधानले १३ लाख रुपैयाँ बराबरको २५ तोला सुनका गर गहना फिर्ता गरेका हुन् ।
उनले आइतबार महानगरीय ट्रााफिक प्रहरी महाशाखा बग्गीखानामा पुगेर चितवनकी निशा श्रेष्ठलाई २५ तोला सुनका गरगहना फिर्ता गरे ।
श्रेष्ठ तीन जना आफन्तसहित शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क घुमेर रानीबारी जानका लागि बा १ ज ८२३५ नम्बरको ट्याक्सी चढेकी थिइन् । बस्न अप्ठेरो भएकाले डिकीको माथिपट्टी राखेको झोला उनले झर्ने बेला बिर्सिइन् ।
ठमेल जाने यात्रु पाएपछि प्रधान पनि ठमेलतिर लागे । राती ट्याक्सी लिएर कीर्तिपुरस्थित डेरामा पुगेपछि उनले झोला देखे । तर, झोला कसको हो भन्ने यकिन भएन ।
उता आफ्नो सुन भरिएको झोला हराएको थाहा पाएपछि पिडीत श्रेष्ठले ट्राफिक प्रहरीलाई खबर गरिन । ‘प्रहरीले सुरुमा त त्यत्रो सामान छुटाउने हो ? भेटिँदैन भने’ श्रेष्ठले भनिन् ‘तै पनि भेटिन्छ कि भन्ने आशाले खोजी गर्न प्रहरीलाई अनुरोध गर्यौं ।’
त्यसपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्ना सबै कार्यालयहरुमा सर्कुलर जारी गर्‍यो । र, सामानको खोजी सुरु भयो ।
मिटरमा जान नमानेका कारण चालक प्रधानको लाइसेन्स प्रहरीले लिएको थियो । चालक प्रधान लाइसेन्स लिन जाने क्रममा ट्राफिक प्रहरीले फोन गर्‍यो । ट्राफिकको फोनपछि प्रधान ट्याक्सी लिएर महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगे ।
जहाँ झोला धनी श्रेष्ठ आफन्तसहित उपस्थित थिइन् । ट्राफिक प्रहरीले प्रधानको ट्याक्सीबाट झोला निकालेर खोल्यो ।
जहाँ ३ थान हार, ६ थान चुरा, ५ थान औंठी, ४ थान टप, १ थान लकेट थिए । चालक प्रधानले आफूलाई उक्त झोलामा के छ भन्ने थाहा नभएको भन्दै उनले सामान धनीलाई सामान फिर्ता गर्न पाएकोमा आफूलाई खुसी मिलेको बताए ।
गहना भेटिएपछि श्रेष्ठले चालक प्रधानलाई निकै इमान्दार चालक भन्दै खादा ओढाएर सम्मान गर्नुका साथै २० हजार रुपैयाँ पुरस्कार दिइन । ट्राफिक प्रहरीले पनि सुनका गरगहना फिर्ता गरेकामा प्रधानलाई ५ हजार रुपैयाँ पुरस्कार स्वरुप दिएको छ ।