भारतीय क्यासिनोबाट ५ नेपाली युवती पक्राऊ
२८ पुस, काठमाडौं । भारतको गुडगाउँस्थित एक क्यासिनोमा प्रहरीले छापा मारेर पाँच नेपाली युवती सहित ४३ जनालाई पक्राउ गरेको छ ।
- पक्राउ परेकाहरुलाई सार्बजनिक गर्दै गुडगाउँ प्रहरी । तस्वीर : दैनिक ट्रिव्यून
गुडगाउँको डीएलएफ फेस-२ इलाकास्थित एक घरमा सन्चालित क्यासिनोमा गत आइतबार भारतीय प्रहरीले छापा मारेको थियो ।
काठमाडौंमा तालिमप्राप्त युवतीहरुलाई राखेर ६ महिनादेखि गुडगाउँमा अवैध रुपमा क्यासिनो सन्चालन हुँदै आएको थियो । ति नेपाली युवतीहरुलाई मासिक २० हजार भारुमा काममा लगाइएको थियो ।
छापा मारेर २० लाख नगद तथा विदेशमा बनेका महंगा मदिरा बरामद गरिएको छ ।
पुलीस कमिश्नर नवदीप सिंहका अनुसार ६ महिनादेखि अवैध रुपमा क्यासिनो सन्चालन हुँदै आएको सूचनाको आधारमा आइतबार विहान ३ बजे प्रहरीले छापा मारेको थियो ।
गुडगाउँमा सन्चालित यो पहिलो क्यासिनो हो । सो क्यासिनोमा १० बाउन्सर, कुक, वेटर समेत गरी अन्य १५ जना पनि कार्यरत थिए ।
