काठमाडौं, माघ २५ – पाँच दिनअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली उडेका एक यात्रुको लगेजबाट ३५ हजार भारतीय रुपैयाँ चोरी भयो। ‘इन्डिगो एयर’ का यात्रु डिके सिंहले लगेजमा राखेको ब्रिफकेसबाट रकम चोरी भएको हो। काठमाडौं–दिल्ली नियमित आवतजावत गर्ने सिंहले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चोरी र सामान हराएको हेर्ने शाखालाई जानकारी गराएका थिए। उक्त रकम उनले हातमा नलिई लगेजमा पठाएको विषयमा भने विमानस्थलका सुरक्षा अधिकारीले शंका व्यक्त गरेका छन्।‘त्यो खासै ठूलो रकम त होइन,’ एक प्रहरी अधिकृतले भने,‘हातमा बोक्ने झोला वा खल्तीमा किन राखेनन् ?’ उनले प्रहरीलाई दिएको जानकारीअनुसार भने ह्यान्डक्यारी झन्डै ९ केजी बराबरको थियो। पाँच केजीभन्दा बढी हातमा बोक्न नपाइने भएकाले उनले लगेजमा पठाइदिएका थिए। प्रहरीका अनुसार उनको सुटकेसलाई ‘इन्डिगो एयर’ का कर्मचारीले सुटकेस खोल्ने ठाउँमा सेतो टेपसमेत लगाइदिएका थिए। ‘तर पनि नगद हराएको उजुरी छ,’ ती अधिकारीले भने, ‘अनुसन्धान गरिरहेका छौं।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू प्रस्थान गर्ने द्वारबाटै सीसीटीभीको निगरानी हुन्छ। अझ दुई सय मिटरभित्र पाँचवटा सीसीटीभी छन्। ती क्यामेराले हरेक कोणबाट यात्रुको झोलामाथि निगरानी गरिरहेका छन्। ‘कुनै पनि कुनाबाट यात्रुको झोला हराउने वा छेडखानी नहोस् भन्न सीसीटीभी राखिएको हो,’ ती प्रहरी अधिृकतले भने, ‘यो बीचमा सिंहको झोलाबाट रकम झिकेको दृश्य देखिन्न।’ अझ सिंहको हकमा भने इन्डियन एयरलाइन्समा जाने सामानहरू नेपाली सुरक्षा निकायको जाँच पार गरेपछि भारतीय सुरक्षा निकायको एक्सरे मेसिनले अलग्गै जाँच गर्छ। ‘सिंहको रकम नेपालमा हरायो या अन्तै, अनुसन्धान भइरहेको छ,’ प्रहरी अधिकारीले भने। केही समयअघि सम्म पर्याप्त सीसीटीभी नहुँदा वायु सेवा निगम (आरए) का ुलोडरु हरूमध्ये एउटाले आफ्नो शरीरले सीसीटीभीलाई छेक्ने र अर्काले यात्रुको झोला खोतल्ने प्रवृत्ति मौलाएको थियो। एयर इन्डिया र थाई एयरवेज बाहेकका सबै एयरलाइन्सका यात्रुहरूका सामानको जिम्मा आरएका कर्मचारीले लिने गर्छन्। प्रहरी स्रोतका अनुसार सिंहको झोलामा एयरलाइन्सले लगाइदिएको टेप ‘लोडर’ ले निकालेको दृश्य सीसीटीभीमा कैद छ तर सुटकेसभित्रै हात हालेर पैसा निकालेको भने देखिन्न।आजको कान्तिपुर दैनिकमा खबर छ ।
झोला फुटाउँदै सामान चोर्दै
