दिल्लीमा नेपाली यात्रुको बिजोग

फोटो :फाइल फोटो
नयाँदिल्ली : काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार दिन बन्द भएपछि सयौं नेपाली यात्रु नयाँदिल्ली विमानस्थलमा अलपत्र परेका छन् भने मुम्बईमा पनि ठूलो संख्यामा नेपाली अलपत्र छन्।
 
अन्नपूर्ण पोस्ट्ले दिल्ली विमानस्थलमा खाडी मुलुकबाट जेट एयरवेज चढेर आएका एक सय एक यात्रु तथा एयर इन्डियाका सय यात्रु शनिबार बेलुका अलपत्र भेट्टायो। ती यात्रुलाई जेट एयरवेज र इन्डियन एयरले विमानस्थलमा अलपत्रै छाडिदिएका छन्।
यति नै नेपाली दिल्ली विमानस्थलमा अलपत्र परेको भन्ने संख्या यकिन गर्न नसकिए पनि दिल्लीस्थित नेपाली दूतावासले करिब दुई सय नेपाली अलपत्र परेको उल्लेख गरेको छ। 'जेट एयरवेज र एयर इन्डियाका करिब दुई सय यात्रु नयाँदिल्लीमा अलपत्र परेका छन्', दूतावासका डीसीएम कृष्णप्रसाद ढकालले अन्नपूर्ण पोस्ट्सँग भने, 'तिनीहरूलाई एक दिन दिल्ली र एक दिन मुम्बईका होटेलमा राखिए भने अहिले विमानस्थलमा अलपत्र छाडिएका छन्।'
 
एक सय एक नेपाली यात्रु लिएर बिहीबार कतारबाट काठमाडौं आएको जेट एयरवेजको जहाज मुम्बई डाइभर्ट भएको थियो। मुम्बईबाट उनीहरूलाई दिल्ली ल्याएर अलपत्र छाडिएको छ।
 
मुम्बईस्थित लीला होटेलका कर्मचारीले फोनमा बताएअनुसार एक सय एक नेपाली यात्रु बिहीबार होटेलमा ल्याइएका थिए। 'शुक्रबार साँझ उनीहरू सबैले होटेल छाडे', होटेलकी पर्सनल रिलेसन म्यानेजर शिरज रानीले भनिन्। ती यात्रुलाई बसमार्फत काठमाडौं लैजान खोजिएको डीसीएम ढकालले बताए।
 
यसबारे जेट एयरलाइन्सले प्रतिक्रिया दिन अस्वीकार गरेको छ। 'म यसबारे कुनै प्रतिक्रिया दिने स्थितिमा छैन', यात्रुलाई किन अलपत्र छाडियो भन्ने प्रश्नमा एयरलाइन्सकी कर्पोरेट कम्युनिकेसन्स् र पब्लिक रिलेसनकी उपाध्यक्ष रजनी चोपडाले भनिन्।
 
काठमाडौं विमानस्थल शनिबार राति खुले पनि जेट एयरलाइन्स र एयर इन्डियाका यी यात्रु कसरी काठमाडौं जान्छन् भन्ने स्पष्ट हुन सकेको छैन।
 
नेपाली दूतावासले जेट एयरलाइन्स र एयर इन्डियासँग नेपाली यात्रुहरूलाई बसोबासको व्यवस्था मिलाउन र काठमाडौं उडाउन आग्रह गरिरहेको छ। स बन्धित एयरलाइन्सले भने सबै यात्रुको बसोबास खर्च आफू एक्लैले व्यहोर्न नसक्ने भनिरहेको छ। 
 
दूतावासका गणेशप्रसाद अधिकारीले भने, 'यिनीहरूलाई भोलि बिहान नेपाल वायुसेवा निगमको विमानबाट काठमाडौं पठाउने प्रयास गरिरहेका छौं।' यीबाहेक बेलायत, अमेरिका, संयुक्त अरब इमिरेट्सलगायत स्थानबाट आएका करिब ७० जना नेपाली दिल्ली विमानस्थलको गेट न बर एकमा अलपत्र छन्।