सोनुलाई कक्षा ३ मै लभ लेटर
फोटो :अन्नपूर्ण
काठमाडौं: सन् २०१२ को कुरा हो। सोनु श्रेष्ठले बेलायतको लन्डनस्थित युनिभर्सिटी अफ वेल्स, ट्रिनिटी सेन्टडेभिडबाट 'ब्याचलर इन बिजनेस म्यानेजमेन्ट'मा स्नातक गरिन्। त्यस बेला उनका अगाडि दुईवटा बाटा देखा परे। लन्डनमै बसेर प्राप्त अवसर प्रयोग गर्ने वा स्वदेश फर्केर संघर्ष गर्ने? उनले दोस्रो बाटो रोजिन्।
'मलाई आफ्नै देशमा संघर्ष गर्न मन लाग्यो। नेपाल त फर्कें तर के गर्ने भन्ने अपसन थिएन', सोनु स्मरण गर्छिन्, 'नेपाल फर्केपछि मिस मंगोलमा सहभागी भई सेकेन्ड रनरअप हुन सफल भएँ। यस अवधिमा मैले धेरै कुरा बुझ्ने मौका पाएँ। अन्तत: फेसन डिजाइनरका रूपमा करिअर बनाउने निर्णय गरेँ।'
आईईसीबाट फेसन डिजाइनिङमा स्नातक गरेकी सोनु अहिले टीजीआईएफ नेपाल फेसन विकमा आफ्नो सिर्जना प्रस्तुत गर्ने तयारीमा छिन्। 'धेरैले मलाई मोडलिङ, अभिनयमा लाग्न प्रेरित गरे तर त्यो क्षेत्रले मलाई आकर्षित गर्न सकेन', सोनु प्रस्ट्याउँछिन्, 'सिर्जनशील क्षेत्रमा लाग्ने चाहना भएकाले फेसन डिजाइनिङ मेरो रोजाइमा परेको हो।'
उनी विश्वविख्यात नेपाली फेसन डिजाइनर प्रबल गुरुङलाई आदर्श मान्छिन्। 'फेसन डिजाइनिङबाट अमेरिकामा प्रबल गुरुङले जुन सफलता हासिल गर्नुभएको छ, त्यो प्रेरणादायी छ। बेलायतमा अर्को प्रबल गुरुङ बन्ने मेरो सपना हो', सोनु आफ्नो योजना सुनाउँछिन्।
फेसन डिजाइनिङसम्बन्धी थप कोर्स गर्न उनी पुन: बेलायत जाने तयारीमा छिन्। 'मैले बेलायतमा फेसन डिजाइनिङको महत्त्व र आयाम राम्ररी बुझेकी छु। त्यहाँ थप कोर्स गरी आफ्नो सिर्जनशील क्षमता देखाएर नेपाललाई चिनाउन चाहन्छु।
तर, मेरो अन्तिम गन्तव्य नेपाल नै हो। संसारबाट सीप सिकेर नेपालमा त्यसको प्रयोग गर्न चाहन्छु', सोनु भन्छिन्। सोनुलाई ग्ल्यामर क्षेत्रमा लाग्न धेरैले सुझाए। त्यसका लागि उनी 'पर्फेक्ट' पनि छिन्। तर, नजाने गाउँको बाटो नसोध्नु भनेझैं ती क्षेत्रका बारेमा सोच्दा पनि सोचिनन्।
काठमाडौंको गोँगबुमा जन्मेकी २३ वर्षीया सोनु सानैदेखि स्पोटी स्वभावकी थिइन्। स्कुले जीवनमा उनी बास्केटबल खेलाडी। विद्यार्थी जीवनका कतिपय घटना उनलाई रोमाञ्चक लाग्छ। 'म ३ कक्षामा हुँदा सँगै पढ्ने केटाले चिठी लेखेर प्रेम प्रस्ताव गर्यो।
मैले नो भन्दिएँ। मलाई त्यस बेला प्रेमको अर्थ थाहै थिएन', उनी स्मरण गर्छिन्', यस्ता प्रस्ताव आइरहन्थे। मैले जब प्रेमको अर्थ बुझेँ, एकजनाको प्रस्ताव स्वीकारेँ। ऊसँग मेरो भविष्य जोडिएको छ।'