प्रेमिकासँग बिहे गर्न नदिँदा आफ्नै पितासँग १५ लाखको ‘फिरौती

१५ चैत, काठमाडौं । जमाना पनि कस्तो अचम्मको आयो ! आफूले मनपराएकी केटीसँग बिहे गर्न नपाएपछि ललितपुरका एक किशोरले आफ्नै पितासँग अपहरणको नाटक रचेर १५ लाख फिरौती मागेका छन् ।
फिरौती मागेपछि रातभरि लफडा
सप्तरीको इटहरी बिष्णुपुर-३ घर भई हाल ललितपुर इमाडोल-६ बस्ने कृष्णबल्लभ ठाकुरलाई शनिबार बिहानै नचिनेको नम्बरबाट फोन आयो ।
फोनमा उनलाई ‘तेरो छोरा अञ्जन हाम्रो नियन्त्रणमा छ, छोरालाई सकुशल छुटाउनुछ भने नगद १५ लाख फिरौती दे, होइन भने…’ भन्ने धम्की आयो ।
उनले सुरुमा त पैसा छैन भने । तर, आफूले जन्माएको सन्तान अपरहणमा परेको भनेपछि कुन आमाबुबाको मन थामिएला र । हुर्किसकेको छोरो अपहरणमा परेको खबर आएपछि ठाकुर निकै आत्तिए । उनले प्रहरीलाई खबर गरे । प्रहरीले पनि दिनभर खोजी गर्‍यो ।
प्रहरीले अञ्जानको खोजी गरिरहँदा पनि अञ्जान र उनका बाबुबीच पैसामा बार्गेनिङ पनि नचलेको होइनन । तर, कृष्णले पैसा माग्ने आफ्नो छोरा नै हुन् भन्ने थाहा पाएनन् ।
आइतबार बिहान फेरि त्यही नम्बरबाट फोन आयो र भनियो-‘ड्याडी म अञ्जान हो, मलाई कल गर्नुस् ।’ त्यसपछि अञ्जनले अपहरणको नाटक गरेको भेद खुल्यो ।
बिहे गर्छु भन्दा थप्पड
Anhan-Thakurसरकारी कर्मचारीसमेत रहेका कृष्णबल्लभका अनुसार कक्षा ११ मा पढ्ने अञ्जानले ११ मा पढ्ने केटी मन पराएका थिए । उनले आमालाई प्रेमिकासँग विवाह गर्ने इच्छा व्यक्त गरेका थिए, तर सुनुवाइ भएन ।
अन्तरजातीय भएको भन्दै परिवारले उक्त केटीलाई स्वीकार नगर्ने बताए ।
तर, केही दिनअघि अञ्जानले प्रेमिकालाई भेट्न आउ भनेर मोबाइलबाट पठाएको म्यासेज बाबुले भेट्टाए । पढ्ने बेलामा छोरो प्रेममा परेको थाहा पाएपछि कृष्णबल्लभले दुई चार थप्पड लगाए ।
तर, बाबुले कुटेपछि अञ्जानले डरलाग्दो योजना बनाए । उनले अपहरणमा परेको नाटक गरेर बुबासँग १५ लाख माग्ने र आफूले मन पराएकी केटीसँग विवाह गरेर छुट्टै बस्ने योजना बुनेको कृष्णबल्लभले थाहा पाएनन् ।
अञ्जनका पिता भन्छन्- ‘मलाई त छोरो साँच्चै अपहरणमा परेको छ भन्ने लागेको थियो । एकदमै आत्तिएको थिएँ ।’
तर, आइतबार अञ्जान आफैले फोन गरेपछि छोराले अपहरणको नाटक गरेको थाहा पाए ।
सानागाउँमा साथीसँग लुकेर बसेका अञ्जानलाई प्रहरीले लिएर आयो र केरकार गर्‍यो । र, महानगरीय प्रहरी परिसर ललितपुरमा अञ्जान र उनका परिवारका साथै उनले मन पराएकी केटी पनि परिवारसहित आए ।
कृष्णबल्लभले उजुरी नदिएकाले प्रहरीले पनि कुनै मुद्दा चलाएन । अञ्जन पिताकै साथमा लागेर घर गए ।
पिताको पछुतो
अहिले भने कृष्णबल्लभलाई छोरालाई नकुटेको भए हुन्थ्यो भन्ने लागिरहेको छ । उनले अनलाइनखबरसँग भने- ‘मैले मात्र होइन, प्रहरीले पनि दुःख पायो ।’
अब छोरालाई उनैले मन पराएकी केटीसँग विवाह गरिदिनुहुन्छ ? अनलाइनखबरको प्रश्नमा उनले भने- ‘यसबारे मैले उसलाई केही भनेको छैन । तर, सबै कुरा हेर्दा उनीहरुले एकअर्कालाई मन पराएका हुन् र चाहन्छन् भने अब मेरो असहमति हुँदैन ।’