‘प्रधानमन्त्री ज्यू, हाम्रो जीवन र सपना चकनाचुर पार्ने त्यो को हो ?
एसिड पीडित किशोरीले पत्र लेख्दै भनिन्-त्यसलाई फाँसी दिइयोस्
काठमाडौंको बसन्तपुरमा मा परी घाइते भएकी सीमा बस्नेतले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई यस्तो व्यहोराको पत्र लेखेकी छन् । सीमाको पत्र लिएर बुधबार उनकी सानिमा प्रधानमन्त्री कोइरालालाई भेट्न पुगेकी थिइन् ।
एसएलसीको तयारीका क्रममा ट्युसन पढिरहेका बेला काठमाडौंको बसन्तपुरस्थित ट्युसन सेन्टरमा एसिड आक्रमणको शिकार बनेकी बस्नेतले प्रधानमन्त्रीलाई लेखेको पत्र चार पृष्ठ लामो छ ।
यस्तो छ सीमाको पत्र
‘त्यो व्यक्ति को हो ? जसले आफ्नो जीवनको सपना पूरा गर्न साँझ बिहान अतिरिक्त मेहनत गरेर पढिरहेका हामीमाथि एसिड प्रहार गर्ने धृष्टता गर्यो ?’ सीमाले पत्रमा भनेकी छन्-‘ त्यो को होला ? १७ दिनसम्म पक्राउ नपर्ने कारण के होला ?’
सीमाले पत्रमा आफू रौतहटबाट भविश्य बनाउन हजुरआमाको साथ लागेर राजधानी आएको र हजुरआमाले दुख गरेर पढाएको उल्लेख छ । ०६८ साल फागुन २५ गते हजुरआमाले आफूलाई कान्ति ईश्वरीय राज्यलक्ष्मी माविमा भर्ना गरेको उनले लेखेकी छिन् ।
ए प्लस टु्युसन सेन्टरमा एसएलसीको तयारीका लागि पढिरहेका बेला करिब एक हस्ता अघिमात्रै आफ्नो र संगीताको परिचय भएको सीमाले प्रधानमन्त्रीलाई लेखेकी छिन् ।
एसिड आक्रमणमा परेकी संगीताको अवस्था अहिले सीमाको भन्दा कमजोर छ ।
आफूहरु बिहान ६:१५ बजे शिक्षकलाई कुरेर बसिरहेका बेला अपरिचित व्यक्तिले एसिड खन्याएको उनले लेखेकी छन् ।
सीमाले अहिलेसम्म आफ्नो कुनै केटासाथी नभएको प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ । त्यस्तै फेसबुक आइडी र आफूसँग मोबाइलसमेत नभएको उनले उल्लेख गरेकी छन् । आफ्नो जीवनको सपना पूरा गर्न रौतहटबाट काठमाडौं आएको उनले बताएकी छिन् ।
सीमाले अहिलेसम्म आफ्नो कुनै केटासाथी नभएको प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ । त्यस्तै फेसबुक आइडी र आफूसँग मोबाइलसमेत नभएको उनले उल्लेख गरेकी छन् । आफ्नो जीवनको सपना पूरा गर्न रौतहटबाट काठमाडौं आएको उनले बताएकी छिन् ।
सबैभन्दा ठूलो चिन्ता एसएलसीको
सीमाले प्रधानमन्त्रीलाई लेखेको पत्रमा आफूले एसएलसी दिन पाउँछु कि पाउँदिन भन्ने गम्भीर चासो र चिन्ता व्यक्त गरेकी छिन् ।
सीमाजस्ता किशोर किशोरीको भविश्य एसएलसीसँग जोडिएको हुन्छ । सीमाले प्रधानमन्त्रीलाई लेखेकी छिन् ‘ म एसएलसी दिन पाउँछु कि पाउँदिन, अन्योलमा छु । एसएलसीको तयारी पनि भएको छैन, सेन्टर कहाँ हो ?’
अपराधीलाई फाँसीको माग
सीमाले प्रधानमन्त्रीलाई लेखेको पत्रमा आफ्नो जीवन र सपना चकनाचुर पार्नेलाई चााडो पक्राउ गरी फाँसी दिन माग गरेकी छिन् । ‘दोषीलाई पक्रिएर कावाही नभए हामीजस्तै अरु दिदी बहिनीमाथि पनि यस्तै हुन सक्छ,’ सीमाको पत्रमा भनिएको छ ।
उपचारस्थलबाटै एसएलसी दिन पाउने
सीमाको पत्र आउनासाथ प्रधानमन्त्री सुशील कोइरालाले अपराधीलाई चाँडो पक्राउ गर्न गृहमन्त्रालयलाई निर्देशन दिएका छन् ।
साथै पीडित किशोरी सीमा र संगीता दुबैलाई उपचारस्थलबाटै एसएलसी दिने व्यवस्था गर्न प्रधानमन्त्रीले शिक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।
‘सीमा र संगीतालाई उपचारस्थलबाटै एसएलसी दिन पाउने व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले अनलाइनखबरलाई भन्यो, ‘गृहमन्त्रालयलाई पनि दोषीलाई चाँडो पक्राउ गर्न प्रधानमन्त्रीले फेरि दोस्रोपटक निर्देशन दिनुभएको छ ।’