८० घण्टापछि यसरी गरियो युवकको जीवित उद्धार (फोटोफिचर)
काठमाडौं, वैशाख १६ – काठमाडौं गंगवु स्थित वसपार्कको दुई नंबर गेट नजिक मित्रनगर भन्ने ठाउँमा रहेको सयपत्री गेष्ट हाउसबाट मंगलबार राती करीव सवा दश बजे सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोलीले एक जनको जिवितै उद्धार गरेको छ ।
सशस्त्र प्रहरीले उद्धार गरिएको व्यक्तिको नाम नखुलाएपनि रोयटर्सका अनुसार उद्धार गरिएका युवक २८ वर्षीय ऋषि खनाल हुन् । उनी ८० घण्टासम्म एउटा कोठामा ३ वटा शवसँग च्यापिएर बिताएका थिए ।
उनी ७ तले भवनको दोस्रो तलामा थिए जब विनाशकारी भूकम्पले भवनमा क्षति पुर्याएको थियो । उनको उद्धार गर्न ५ घण्टा लागेको थियो । डाक्टरका अनुसार उनको खुट्टा भाँचिएको छ ।
यसैगरी सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु सम्बन्धि अर्को टोलीले काठमाडौ कालधाराबाट आज १२ वर्षिया निकिता श्रेष्ठको शव निकालेको छ । भने गंगव गणेश मन्दिर इलाकाबाट आजै तीन वटा शव भत्किएको संरचनाबाट निकालिएको छ । यसैगरी ठमेल स्थित होटल वजेटबाट दुई जनको शव निकालिएको छ ।
सशस्त्र प्रहरी बलले राहत सामाग्री वितरण गर्ने कार्यमा समेत एपीएफ टोली परिचालन गरेको छ । मध्ये क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्र बाहिनी पथलैयाका बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेल आजै राहत सामाग्री सहित सो सामाग्री वितरण गर्ने टोलीसँग सिन्धुपाल्चोक जिल्ला जानु भएको छ । राहत सामाग्रीमा विस्कुट, औषधी, ड्राइफुड लगाएतका सामाग्री छन् ।
सशस्त्र प्रहरी बलले रोटरी क्लव लगाएतका निकायहरुसँग मिलेर उद्धार सामाग्री वितरण गर्ने कार्यमा सहभागिता जनाई रहेको छ ।
यसैगरी एपीएफ टोलीले भक्तपुरको इनार टोलमा सर्च एण्ड रेस्क्यु गर्ने क्रममा एक सय उन्नाईस तोला सुन फेला पारेर सम्बन्धित घर धनीलाई बुझाएको छ ।
सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोलीले काठमाडौं माछा पोखरीबाट करीव १६ वर्षिय एक पुरुष व्यक्तिको शव फेला पारेको छ भने सितापाइला स्थित चर्चबाट अर्को सर्च एण्ड रेस्क्यु टोलीले दिउसो करीव पौने ३ बजे एक जना करीव ६ वर्षिया वालिका तथा अन्य तीन जना पुरष व्यक्तिको शव फेला पारेको छ ।
यसैगरी काठमाडौं वसुन्धारा इलाकाबाट एपीएफको सर्च एण्ड रेस्क्यु टोली तथा फ्रान्सको डग स्नेफिङ एण्ड रेस्क्यु टोलीले तीन वटा शव निकालेको छ ।
