नयाँ वर्ष समारोहमा मन्त्री हाफ पाइन्टमै गएपछि, महिला सहभागीले भने-मन्त्रीज्यूलाई सल बेर्न दिऊ कि ?
१ वैशाख, काठमाडौं – मन्त्रीज्यू झण्डा फर्फराउदै गाडीमा आएपछि आयोजकहरु स्वागतका लागि गाडीसम्मै जाने नै भए । तर झण्डावाल गाडीबाट दौरा सुरुवाल लगाएका मन्त्री होइन टिसर्ट र हाफ पाइन्ट लगाएका मन्त्री ओर्लिदा उनीहरुले झण्डै चिनेनन् ।
नयाँ वर्षको दिन सोमवार पशुपतिको वनकालीमा यस्तै भयो । मोरङ समाजको शुभकामना आदान प्रदान कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल विल्कुलै अनौपचारिक पोशाकमा पुगेपछि कार्यक्रमका आयोजक र सहभागीहरुबीच कानेखुसी चल्यो ।
मन्त्री पण्डित अघि पछि औपचारिक कार्यक्रममा जाँदा लगाउने टाइ सुटमै थिए । औपचारिक कार्यक्रम भएकाले सबै औपचारिक पोशाकमै उपस्थित थिए । तर कार्यक्रमका विशेष अतिथी तथा सरकारका प्रवक्ता रिजाल नै हाफ पाइन्टमा उपस्थित आएपछि अप्ठेरो महशुस हुनेनै भयो ।
मन्त्री रिजाललाई हेर्दै कार्यक्रमका कतिपय सहभागी महिलाले भने, ‘मन्त्रीज्यूलाई हाम्रो सल (मजेत्रो) बेर्न दिनुपर्छ कि क्या हो ।’ कार्यक्रममा आफैं पनि अप्ठेरो महशुस गरेका रिजालले बोल्ने क्रममा आफू मिर्गौला विरामीको सहयोगार्थ फुटबल खेल्न गएकाले सिधै फुटबल मैदानबाट आउदा पोशाकमा ध्यान नपुगेको बताए ।
यसअघि पनि मन्त्री रिजाल सार्क सम्मेलनका बेला यस्तै अनौपचारिक पोशाकमा मिडिया सेन्टरमा प्रवेश गर्दा विदेशी पत्रकारले टिकाटिप्पणी गरेका थिए ।