'भूकम्पले लाङटाङ गाउँ पुरै पुरियो घरहरु गर्ल्यामगुर्लुम ढलेकोमात्रै देखियो


भूकम्प आउनेबित्तिकै विमानस्थलको टावरमा कोही थिएनन् । त्यसैले खतरा मोलेर क्या. सिद्धार्थ र म हेलिकप्टरमा उड्यौं । 
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै सुरुमा हामी भक्तपुरको आकाशमा पुग्यौं। भक्तपुरमा पुराना माटो जोडाइका घर गर्ल्यामगुर्लुम ढल्दै गरेको देखियो । कति घरको छाना भत्केको, केहीको जगैदेखि भत्किएर माथिल्ला तल्लाहरु थचक्क बसेको देख्यौं।
 
घरहरु भत्किएर जताततै धूलो उडेको थियो। मान्छेहरु यताउता भागदौड गरिरहेका थिए । खाली ठाउँमा भेला हुने क्रम पनि बढिरहेको थियो । केही भत्केका भग्नावशेषमा चढेर कोही पुरिएका छन् कि भनी खोजिरहेका थिए ।
 
भक्तपुरपछि ललितपुर गयौं । त्यहाँ पनि पुराना घरहरु भत्कँदै गरेको पाइयो । मंगलबारस्थित पाटन दरबार क्षेत्रका मन्दिरहरु भत्किँदै गरेको थियो । छानाहरु घरमै थचक्क बसेका थिए ।
ललितपुरपछि काठमाडौंको आकाशमा आउँदा धरहरा ढलिसहेको थियो । टुँडिखेलमा मान्छेहरु भेला हुने क्रममा थिए । बाटोभरि गाडी जाम भएको थियो ।
 
 बसन्तपुरमा दरबारहरु भत्कँदै गरेको समेत देखियो । धापासीको आकामशमा पुग्दा त्यहाँस्थित अपार्टमेन्टका भवनहरु चरक्क चर्कियो । स्वयम्भूमा रहेको गुम्बा भत्किँदै थियो ।
 
त्यस्तै काभ्रेको पनौतीमाथिको आकाशमा जाँदा पनि माटोका अधिकांश घर भत्केका थिए । नभतकेका घरका पनि छाना थिएनन् ।
 
यसपछि रसुवाको लांगटांग क्षेत्रमा उद्दारमा लागि गयौं । जाँदाजाँदै पहिरो आएर त्रिशुली नदीका ठाउँ ठाउँमा मुख थुनिएको थियो । त्रिशुलीबाट धुन्चे जाने बाटोको ठाउँमा ठाउँमा पनि भत्केको पाइयो ।
रसुवाको स्याफ्रुवेसीबाट घोडा तबेला जाने क्रममा बीचमा केही गाउँ पहिरोले बगाएको, केही गाउँ पहिरोले पुरिएर मरुभूमि जस्तो देखियो । 
 
नांगा डाँडामा मान्छेहरु यताउता गर्दै हामीलाई देखेर बचाउ बचाउ भन्दै हात हल्लाइरहेका थिए । तर हामीले उद्दार गर्न सकिने अवस्था थिएन । खराब मौसमका कारण हामी उद्दार गर्न गएको ठाउँसम्म पुग्न सकेनौं । लांगटांग गाउँ पुरै पुरिएको थियो। लांगटांग राष्ट्यि निकुञ्जभित्र रुख ढलेर सम्मै थियो ।
रसुवाबाट त्रिशुली नदी हुँदै फर्कंदा पनि नदीका दायाँबायाँ भएका सबै गाउँका घर भत्केका थिए । मान्छेहरु अलपत्र परिरहेका थिए ।
 
हामीले देखेको सबै रिपोर्ट त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थलको टावरमा निरन्तर गरिरहेका थियौं । त्यस्तै अन्य सम्बन्धित ठाउँमा पनि आवश्यक जानकारी दिएका थियौं । 
 
त्रिभुवन विमानस्थलको टावरमा कोही नभएकाले काठमाडौंमा आएका जहाजलाई हामीले नै स्कर्टिंग गरेर अवतरण गराएका थियौं । जहाज आउनेबित्तिकै विमानस्थलको अवस्था हेरेर जहाजका पाइलटलाई खबर गरेर सुरक्षित अवतरण गराउन सफल भयौं ।