दुबई लैजाने भन्दै नेपाली युवतीलाई सिरियामा बेच्ने गरेको खुलासा यी नै हुन मुख्य अभियुक्त

२२ चैत, काठमाडौं – मानव बेचविखन गर्ने गिरोहले आकर्षक रोजगारीको सपना देखाएर नेपाली युवतीहरुलाई सिरियामा बेच्ने गरेको खुलेको छ ।

 नेपाली युवतीहरुलाई अफ्रिकी मुलुकका डान्स बारहरुमा बेच्ने केदारबहादुर खड्कासहितको समूह पक्राउ परेपछि यो नयाँ तथ्य बाहिर आएको हो ।
 केदारसहित ८ जनाको गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले केही समय अगाडि पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुका तस्वीर सार्वजनिक भएपछि एक युवतीले सीआईबीमा उजुरी दिइन् । आफूलाई दुबईमा ब्युटी पार्लरमा काम लगाइदिन्छु भनी सिरिया पुर्‍याएको र ७ हजार अमेरिकी डलरमा बेचेको पीडितको दाबी छ । पीडितको उजुरीपछि अनुसन्धानका क्रममा आषिश भन्ने केदारबहादुर खड्काले २०६९ असार २८ गते उजुरीकर्तासहित सात युवतीलाई सिरिया पठाएको खुलेको छ ।

सिरियामा घरेलु कामदारका रुपमा राखिएका उनीलाई बन्धक बनाएर दैनिक १८/१९ घन्टा काममा लगाउन गरेको थियो । पारिश्रमिक माग्दा ७ हजार डलरमा किनेको भन्दै घर धनीले शारिरीक तथा मानसिक यातना दिएको पीडितले बताइन् । उजरीकर्ता युवतीले लुकेर घरमा सम्पर्क गरेपछि परराष्ट्र मन्त्रालयको पहलमा स्थानीय प्रहरीले उद्धार गरी गत असारमा नेपाल फर्काएको थियो । अन्य युवतीहरु कहाँ छन् भन्ने खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको छ ।