८४ वर्षीय शेरचन सगरमाथा चढ्न लुक्ला प्रस्थान

Minbahadur-Sherchan
११ वैशाख, काठमाडौं । लोकतन्त्र दिवसको दिन ८४ वर्षीय मिनबहादुर शेरचन सगरमाथा चढ्न लुक्ला प्रस्थान गरेका छन् । म्याग्दीको भुरुङ तातोपानीका शेरचनलाई काठमाडौंमा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले शुक्रबार बिदाइ गरे ।
मन्त्री पौडेलले भने, ‘देशको नाम राखेर आउनुहोस् बा हामी हाम्रो तर्फबाट हुने सहयोग र सदभावकालागि सदैव तयार छौं ।’
सन् २००८ मा ७६ बर्षको उमेरमा सगरमाथा चढेर शेरचनले सबैभन्दा धेरै उमेरको सगरमाथा आरोहीको विश्व रेकर्ड बनाएका थिए । तर जापानका ८० वर्षीय युचिरो मिउराले सन् २०१३ मा शेरचनको रेकर्ड तोडे ।
गत बर्ष उनी सगरमाथाको ६ हजार मिटरसम्म पुगे पनि प्रतिकुल मौसमका कारण आरोहण रद्ध गरी फर्किएका थिए । यद्यपी उनले आफूमाथि ठूलो षडयन्त्र गरी जापानी नागरिकको रेकर्ड तोड्न नदिइएको बताउँदै आएका छन् ।
शेरचन पुनः विश्व रेकर्ड राख्ने लक्ष्यसहित शेरचन सगरमाथा चढ्न हिँडेका छन् । ८४ वर्षे शेरचन भन्छन्, ‘अहिले म पूर्ण स्वस्थ छु । यो पटक सगरमाथा चढेर मात्रै फर्किन्छु ।’
उनलाई सगरमाथा चढ्न ५ जना अनुभवी माउन्टेन गाइडले सघाउने छन् । उनलाई गैर आवासीय नेपाली संघ युके र हिमालयन गाईड्सले सहयोग गरेका छन् ।