युवतीलाई जंगलमा जबरजस्ती सिन्दुर हालिए पछी भोलिपल्टै आत्महत्या
गुल्मी, वैशाख ९— गुल्मी छापाहिले गाउँकी एक युवतीलाई केही दिनअघि जंगलबाट उठाएर एक युवाले जबर्जस्त सिन्दुर हाली भित्र्याए । त्यसको भोलिपल्टै युवतीले बेहुलीकै पहिरनमा भीरबाट फालहालेर आत्महत्या गरेकी छिन् । छापाहिले–३ निवासी गोठे विश्वकर्माकी १६ वर्षीया छोरी गीताले विवाह गरेको दोस्रो दिनै भीरबाट हाम्फेर आत्महत्या गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरी निरीक्षक अम्विकाप्रसाद गुप्ताले भने, ‘तर, कानुनी अभावमा हामीले कारबाही गर्न मिलेन । उनीहरू आपसमा मिलेर गएका छन् ।’
गीतालाई सोही गाविस वडा–८ हिलोगाउँका २३ वर्षीय राहुल विश्वकर्माले माइजु पर्ने दीपा विश्वकर्माको सहयोगमा जबर्जस्ती सिन्दुर हाली घर भित्र्याएका थिए । प्रहरी निरीक्षक गुप्ताका अनुसार दीपा र राहुललाई हिरासतमा लिएर राखिएको थियो र उनीहरूलाई बाहिरै मिल्न लगाएर पठाइएको छ । ‘आमा, मलाई जंगलमा जबर्जस्ती सिन्दुर हालेर राहुलले घर भित्र्याएको छ । दुईपटकसम्म भागेँ । तर, उनीहरूले मलाई बाख्रो लखटेझैँ लखेटेर घर ल्याएर भित्र्याएका छन्, मलाई लिन आउनुस् आमा । म यहाँ बस्दै बस्दिनँ भनेर छोरी गीताले रुँदै उसै साँझ फोन गरेकी थिई,’ गीताकी आमा रमाले भनिन्, ‘हामी लिन जाँदा त्यस्तो खबर सुन्नुप¥यो ।’ गीताका बाबुआमा लिन जाँदा गीता घरमा थिइनन् ।
‘हामीले खोई छोरी भनेर सोध्यौँ, घरपरिवारले साथीहरुसँग घुम्न गएकी छे भने । पछि छोरीसँगै गएका साथीहरूसँग सोध्यौँ । उनीहरुले हामीलाई उछिनेर दौडिँदै पर भीरमा गएर हामफालेको बताए,’ रमा भन्छिन्, ‘यिनीहरुले जबर्जस्ती गरेरै मेरी छोरीको ज्यान गएको छ । हामीले न्याय पाउने कि नपाउने ?’ मृतक गीताका दाइ अम्मन विश्वकर्माले बहिनीलाई अपहरण गरिएको र मर्न बाध्य पारिएकाले घटनामा संलग्नलाई कानुनी कारबाही हुनुपर्ने बताए । तर, प्रहरीले सहयोग नगरेको उनको गुनासो छ । उनका अनुसार मंगलबार राहुलका बाबुछोरासहित चार–पाँचजना मानिस गीतालाई माग्न गएका थिए । त्यस दिन गीता छापाहिले स्वास्थ्यचौकीमा औषधि लिन गएकी थिइन् ।
