ग्यास सिलिण्डर पड्केर दुईको मृत्यु
चितवन: चितवनको पश्चिमी क्षेत्रमा पर्ने चित्रवन नगरपालिका ८, चनौली बजारमा खानेकुरा पकाइरहेको बेला ग्यास सिलिण्डर पड्केर दुई जनाको मृत्यु भएको छ ।
चनौलीस्थित घले कटेज रेस्टुरेण्टमा शनिबार साँझ पौने ६ बजेतिर नास्ता पकाइरहेको बेला ग्यास सिलिण्डर पड्केपछि आगोको लप्काले भेटेर गम्भिर रुपमा घाइते भएका रेस्टुराँ संचालक ३० वर्षिय खिमबहादुर घले र कर्मचारी १७ वर्षीय प्रकाश थापाको आइतबार मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय चनौलीका प्रहरी नायब निरीक्षक भानू आचार्यले घाइते अवस्थामा घले र थापालाई कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुर लगिएको थियो । उपचारकै क्रममा आइतबार उनीहरुको मृत्यु भएको प्रनानी आचार्यले बताए ।
आगलागीबाट रेस्टुराँमा रहेको फ्रिज, भाँडाकुँडा र फर्निचर जलेर एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको स्थानीय देवेन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार, रेस्टुराँ संचालक घले तीन वर्षअघी लमजुङबाट चनौली आई होटल व्यवसाय गर्दै आएका थिए ।