भूकम्पपीडित नेपाली सैनिककी श्रीमतीमाथि डाक्टरले यौन दुव्र्यवहार गरेपछि
काठमाडौं, ७ जेठ । भूकम्प गएको बेला बच्चा लिएर भाग्ने क्रममा ढोकामा ठोक्किएर घाइते भएकी एक महिलामाथि अस्पतालमा उपचारका क्रममा यौन दुव्र्यवहार गरिएको छ ।
वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचारका लागि एमआरआई वार्डमा भर्ना भएकी नेपाली सेनाका जवानकी २२ वर्षीया पत्नीलाई डाक्टरले यौन दुव्र्यवहार गरेका हुन् ।
ति महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा एमआरआई वार्डमा कार्यरत चिकित्सक रेडियोलोजिस्ट वीरगन्ज १८ भिस्वाका निशान्त यादवलाई प्रहरीले केही दिन अगाडी पक्राउ गरेको थियो ।
अस्पतालमा एमआरआई गर्ने क्रममा डाक्टरले आफ्नी श्रीमतीलाई जबरजस्ती सम्बन्ध राख्न खोजेको उनले दाबी गरेका छन् । एमआरआई गर्ने बेला श्रीमतीलाई भित्र लगेर आफूलाई बाहिर पठाएर डाक्टरले दुव्र्यवहार गर्दा दुई घन्टापछि वार्डभित्रबाट बचाऊबचाऊ भन्ने आवाज आएको उनले बताए ।
‘श्रीमती चिच्याएपछि जबरजस्ती वार्डभित्र जाँदा अर्धनग्न अवस्थामा फेला पारे, डाक्टर थिएन्’ उनले भने । डाक्टरले जबर्जस्ती गर्न खोजेको श्रीमतीले बताएपछि आफूले डाक्टरमाथि आक्रमण गरेको समेत उनले बताए ।
यो घटनापछि अस्पतालमा हल्ला हुँदा आरोपी डाक्टरलाई प्रहरीले आएर नियन्त्रणमा लिएको थियो । आरोपी डाक्टरलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।
उता डाक्टरले एमआरआई गर्दा कपडा हटाउनुपर्ने भएकाले ति महिलाको कपडा खोलेको र अरु केही नगरेको दाबी गरेका छन् । प्रहरीका अनुसार घटनाको अनुसन्धान अझै सकिएको छैन् ।