जापानमा गयो ८.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प


फोटो :एजेन्सी
एजेन्सी : जापानमा शनिबार अपरान्ह ८.५ म्याग्निच्यूडको भूकम्प गएको छ । नेपाली समयअनुसार शनिबार अपरान्ह ५ बजेर ८ मिनेट जाँदा जापानको सिमोडा सिजुओकाबाट ७७४ किलोमिटर टाढा केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्प गएको जापानको भूगर्भ विभागले जनाएको छ ।

समुद्री तट नजिकै केन्द्रबिन्दु रहेको शक्तिशाली भूकम्पको धक्काले अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ८.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएलगत्तै सोही स्थानमा अर्को शक्तिशाली धक्का महसुस भएको छ ।

दुबै भूकम्पले राजधानी टोक्यो र योकोहामा सहरसमेत हल्लाएको थियो । भूकम्पबाट कुनै भौतिक नभएको समाचार छ । भूकम्पका क्रममा केही मिनेट रेल र सडक यातायात अवरुद्ध भएपनि अन्य क्षति हुन पाएन ।

दुर्इ ठूला भूकम्पले हल्लाए पनि त्यहाँ तत्काल सुनामी आउने सम्भावना नरहेको जापानको भूगर्भ विभागले जानकारी दिएको छ ।

८.५ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको १० मिनेट नबित्दै ७.८ म्याग्निच्यूडको अर्को भूकम्पको धक्का सोही स्थानमा गएको अमेरिकन भूगर्भ विभागले उल्लेख गरेको छ । दुर्इ शक्तिशाली भूकम्पको धक्का महसुस भएपनि त्यहाँ सुनामी आउने सम्भावना नरहेको वैज्ञानिहरुले जनाएका छन् ।