भुकम्पपीडित नेपाल लाई भारतले थप १ लाख त्रिपाल दिने
नयाँ दिल्ली, वैशाख २४ -
भुकम्पपीडित नेपालको आवश्यकताअनुसार भारतको केन्द्र सरकारले पश्चिम
बंगालको कोलकाता हुादै शुक्रबार थप १ लाख त्रिपाल सहयोग प्रदान गर्ने भएको छ
।
राजदूत दीपकुमार उपाध्यायका अनुसार भारतको गृह मन्त्रालयले दिएको
निर्देशनमा कोलकाताबाट पुर्वी नेपालको नाका हुँदै १ लाख त्रिपाल पठाइने
भएको छ । यसअघि गत सोमबार मात्रै पश्चिम बंगाल सरकारले १ लाख त्रिपाल
नेपाललाई सहयोगमा पठाएको थियो । मुख्यमन्त्री ममता बेनर्जीले थप २० हजार
त्रिपाल सहयोगमा दिने घोषणा गरिसकेकी छिन् । दिल्लीस्थित दुतावासमा संकलित
२० हजार त्रिपाल पनि यसअघि नै नेपाल पठाइएको छ ।
तर, भुकम्पपीडित सर्वसाधारणका लागि आवश्यक राहत तथा उद्धार सामग्री पठाइरहेको दिल्लीस्थित दुतावासले यो काम थालेको १० दिनमा पनि कहींकतै जिल्लामा पनि सामान पुगेको जानकारी पाएको छैन ।
यस बीचमा बिमान सेवा, रेल्वे र ट्रक ढुवानीबाट ४० टनभन्दा बढी सामग्री नेपाल पठाइएको तथ्यांक दुतावाससँग भए पनि कुनै जिल्ला वा सम्बद्ध निकायबाट यो सामान पाइएको जानकारी आउन सकेको छैन । भारतीय विमान सेवाको सौजन्यबाट दैनिक प्रति बिमान १ टनसम्म सामग्री ढुवानी भैरहेकोमा यसमध्ये अधिकांस सामान काठमाडौंस्थित बिमानस्थलमा अड्किएर बसेको छ भने रेल र ट्रक ढुवानीमा गएका सामानबारे पनि जानकारी आएको छैन । काउन्सलर राजेन्द्रमान श्रेष्ठका अनुसार दिल्ली दुतावासमार्फत झण्डै २० हजार त्रिपाल, ७० हजार ब्लांकेट, ३० हजार टेन्ट, ५० हजार केजी चामल ढुवानीमा गैसकेको छ ।
यी सामग्री सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, गोरखा, पर्सा, नुवाकोट,रसुवा, धादिङ, काभ्रेपलान्चोक आदि जिल्लाको मागअनुसार ढुवानी गरिएको हो । राजदूत दीपकुमार उपाध्यायका अनुसार पानी, अचार जस्ता ढुवानीमा मुश्किल पर्ने सामग्री सहयोगमा लिन छाडिएको र अब त्रिपाल, टेन्ट, मेडिकल भेन्टिलेटर, औषधीजन्य सामग्री, सुख्खा खाद्य पदार्थ मात्रै सहयोगमा लिइने भएको छ । अहिले पनि दिल्लीस्थित दुतावासमा १० टनभन्दा बढी राहत सामग्री थन्किएर बसेको अवस्थामा छ ।
राहत सहयोग तथा समन्वयका बारे राजदूत दीपकुमार उपाध्यायले बिहिबार अपरान्ह गृह मन्त्री राजनाथ सिंह र पेट्रोलियम तथा प्राकृतिक ग्याँस राज्य मन्त्री धर्मेन्द्र प्रधानसँग पनि परामर्श गरेका थिए ।