भूकम्पमा मृत्यु हुनेको सम्झनामा ९९९९ मैनबत्ती बालिने।

महाभूकम्पमा परी झन्डै १० हजार जनाले ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै पोखराका युवाहरुले ९ हजार ९ सय ९९ मैनबत्ती बाल्ने भएका छन्।
पोखरा, २३ वैशाख - महाभूकम्पमा परी झन्डै १० हजार जनाले ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै पोखराका युवाहरुले ९ हजार ९ सय ९९ मैनबत्ती बाल्ने भएका छन् । मैनबत्ती बाल्दै भूकम्प पीडितका लागि राहत रकम संकलनसमेत गर्ने उनीहरुको योजना छ।

वैशाख ३१ गते पोखराको चिप्लेढुंगामा साँझ ६ बजेपछि आयोजना हुने उक्त कार्यक्रममा १० हजार जनाकै उपस्थितिमा मैनबत्ती बाल्ने योजना बनाइएको कार्यक्रम संयोजक द्वय बिनोद प्रसाद कोईराला र उत्तम पौडेलले जानकारी दिए । उनीहरुका अनुसार उपस्थिति प्रत्येकको हातले मैनबत्ती बाल्ने र उनीहरुबाट राहत रकम संकलन समेत गरिने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा लागि शान्तिका लागि मैनबत्ती भन्ने नारा बनाइएको छ।

‘सम्पूर्ण देशवासीलाई एक अर्काको साथमा साथ र हातमा हात मिलाई एकै ठाउँमा उभिनका लागि मैनवत्ती प्रज्वलित गर्ने कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछौं,’ कार्यक्रम संयोजक उत्तम पौडेलले भनेका छन्, ‘नागरिक समााज, संघसंस्था तथा सम्बन्धित सबैलाई मैनबत्ती बाल्ने कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्दछौं।

मैनवत्तीको व्यवस्था आयोजकले गर्ने हुँदा मैनबत्ती ल्याउने कष्ट नगर्नु पनि पौडेलले अनुरोध गरेका छन्। कार्यक्रमबारे थप जानकारीका लागि संयोजक पौडेलको ९८४६०-३६६११ नम्बरमा सम्पर्क गर्न सकिने जनाईएको छ।