सिके राउत र सरिता गिरीले कसको गाली खाए ?यसलाई पढेर आफ्नो प्रतिक्रिया दिनु होला

देश महाविपत्तिमा परेको छ । राज्य लथालिङ्ग भएको छ । जनताहरु चिल्लबिल्ल भएका छन् । मनसुन सुरु हुन लागेको छ तर घरविहीन भएका जनता खुला आकाशमुनि बास बस्न परिरहेको छ । भूकम्पको झट्का सकिएको छैन । फेरि हेर्दाहेर्दै र थाहा हुँदाहुँदै पनि अर्को ठूलो विपत्ति हामीतिर बढिरहेको छ, जसरी सुनामीको लहर हेर्दाहेर्दै आउँछ र देख्ने मान्छे जति सबैलाई बगाएर लान्छ । सुनामी अलि छिटो आइपुग्छ तर हामीले पर्खिरहेको विपत्तिचाहिँ अलि ढिलो आउँछ तर आफूतिर बढिरहेको छ भन्ने चाहिँ यतिखेर हामीलाई थाहा छ । बाढीपहिरो र झरीले गर्न सक्ने जिउधनको क्षति पनि भूकम्पको भन्दा कम हुनेवाला छैन ।
अबको पहिलो काम चाँडोभन्दा चाँडो पुनर्वास गराउने नै हो । सरकारी र जनस्तरबाट स्वाभाविक रुपमा पुनर्वासका विभिन्न विकल्प सोचिँदैछन् । घरविहीन भूकम्पपीडितहरुलाई बाढीपहिरो र झरीबतासबाट तत्काल बचाउन तराईमा अस्थायी आवास बनाएर राख्ने सबैभन्दा उत्तम उपायको रुपमा सोचिँदैछ ।
सबै नेपालीको ध्यान यसैतर्फ केन्द्रित भइरहेको बेला सरिता गिरि पुङ्ग न पुच्छरसँग चिच्याइन्, “पहाडका मान्छेहरुलाई मधेशमा पुनर्वास गर्ने काम मधेशी भूमि अतिक्रमण गर्ने महेन्द्रवादी षडयन्त्र हो ।” उनलाई गालीको वर्षा भयो । फेरि अर्को झनै बहादुर निस्किए सिके राउत । उनले धम्कीपूर्ण भाषामा प्याच्च बोले, “पहाडको मान्छेहरुलाई मधेशमा पुनर्वास गरियो भने गृहयुद्ध हुनेछ ।” उनीमाथि पनि गालीको वर्षा नै हुन थाल्यो । गाली गर्नेहरुमध्ये कसैकसैले राउत र गिरिलाई मात्र हैन सबै मधेशीलाई गाली गर्न भ्याए । मानौं, वर्षौंदेखि मनमा रिस जमेको थियो त्यो पोख्ने मौका मिल्यो ।

त्यसपछि यी राउत र गिरि दुवैले लामो स्पष्टीकरण पनि लेखे जसमा उनीहरुले र सम्पूर्ण उत्पीडित मधेशी जनताले सधैं भनिरहेकै कुरा उल्लेख छ । जे भने पनि शत्रुलाई पनि बिरामी भएर थालिएको बेला आक्रमण गरिँदैन । निको हुन दिइन्छ अनि मात्रै आक्रमण गरिन्छ । यस अर्थमा राउत र गिरिको भनाइ र सोचाइ आफैमा अमानवीयता र समवेदनहीनताको पराकाष्ठा नै हो ।
अर्कोतर्फ गालीगलौज गर्नेहरुमा सर्वसाधारणदेखि लिएर नेताको रुपमा कहलिएकाहरु पनि देखिए । धेरैले उनीहरुलाई जेल हाल्नुपर्छ, देश निकाला गर्नुपर्छ सम्म पनि भने । उनीहरु भारतीय हुन् भन्ने आरोप पनि लगाए । सरकारले कारबाही गर्ने कि हामी जनता आफैले गर्ने हो भन्ने प्रश्न पनि गरे । यी गालीगलौजहरु तर्कसंगत र परिणाममुखी भन्दा पनि मुखको स्वाद फेर्ने खाले मात्रै देखिए । रिस पोख्ने मौका पाइयो भनेर अवसरको फाइदा लिने खालका मात्रै भए ।
राउत र गिरीले त्यस्तो भने भन्दैमा न उनीहरुलाई जेल हाल्न मिल्छ, नत देश निकाला गर्न नै । न उनीहरु भारतीय भएकै प्रमाणित हुन्छ, नत जनताहरु आफैले उनीहरुलाई कारबाही नै गर्न मिल्छ । यतिखेर उनीहरु कस्ता मान्छे हुन् भनेर चिन्न मात्रै सकिन्छ । यस्ता संवेदनहीन र अमानवीय विचार बोक्ने मान्छेहरु मधेशकै जनताको पनि दु:खका साथी बन्न सक्दैनन् भन्ने प्रस्ट हुने मौका मात्रै मिलेको छ ।
अर्कोतर्फ उनीहरु जे भनिरहेका छन्, मधेशी जनताको आडमा नै भनिरहेका छन् । उनीहरुले त्यसो भनिरहँदा पनि मधेशी जनतामा चाहिँ उनीहरुकै विचारको बचाउ गर्ने र त्यसमा सहानुभूति राख्ने सोच देखियो तर पहाडमा बस्नेहरुले जस्तो रिस पोखिएको भने देखिएन । मधेशी जनताले उनीहरुका भनाइलाई कहीँ न कहीँ मधेशकै पक्षमा उठेको आवाजको रुपमा बुझेको देखिन्छ । गिरि र राउतले धेरैजसो पहाडियाको गाली मात्रै खाए, मधेशीहरुको हैन । यो मधेशी जनताको मनमस्तिष्कमा विकास भइरहेको निकै गम्भीर मनोविज्ञान हो । राज्यले उनीहरुप्रति लामो समयदेखि गर्दै आएको विभेदलाई जस्तोसुकै शोकको बेलामा पनि चटक्क भुलिहाल्नचाहिँ मन लागेन मधेशी जनतालाई । राउत र गिरीले राष्ट्रिय विपतको घडीमा यस्तो अभिव्यक्ति दिनु सान्दर्भिक नभएको भन्ने लागे पनि गालीगलौजै गरिहाल्नुपर्ने महसुस भएन मधेशी जनतालाई ।
राउत र सरिता दुई व्यक्ति हुन् । यति धेरै मधेशीको बीचबाट दुई जनाले भनेको कुराले खासै महत्व नराख्नसक्छ र उनीहरुले भन्दैमा पुनर्वासको योजना र अभियान रोकिँदैन पनि । तर सिङ्गै मधेशी जनताले चाहेनन् भने चाहिँ यो योजना र अभियान निश्चित रुपमा अघि बढ्न सक्दैन । मधेशी जनताले कहिले पनि आफूलाई गैरनेपाली भनेर ठानेका छैनन् र कसैले त्यस्तो सोचेको मात्रै पनि उनीहरुलाई ठिक लाग्दैन । यस्ता अभिव्यक्तिले उनीहरुको भावनामा गहिरो दुस्ख पुग्छ । उनीहरुले वर्तमान विपत्तिमा हातमा हात मिलाएर उद्धार र सहयोग गरिरहेका छन् । उनीहरुको मनमा भएको उच्च मानवीय संवेदनशीलता र नेपाली–नेपालीबीचको आत्मीय भावनालाई सम्पूर्ण नेपालीले कदर गर्नुपर्छ, सम्मान गर्न जान्नुपर्छ । उनीहरुको मनमा अरु नेपालीहरुप्रति आउनसक्ने सबै शंका–उपशंका यही राष्ट्रिय शोकको घडीमा निवारण गर्न सक्नुपर्छ । हाम्रा सबैखाले अभिव्यक्ति र गालीगलौजले आममधेशी जनताको भावनामा किमार्थ ठेस पुग्नु हुँदैन ।
स्मरण रहोस्, पहाडिया मूलका जनताले जतिसुकै गालीगलौज गरे पनि राउत–गिरिका भनाइ र सोचाइलाई मधेशी जनताले साथ दिए भने कसैको केही लाग्दैन । उनीहरुका चाहना र भावनालाई राज्यले वा अन्य समुदायले जति राम्रोसँग बुझेर सम्बोधन गर्नसक्छन् त्यति नै हामी उनीहरुको नजिक पुग्छौं र उनीहरु हाम्रो नजिक आउनेछन् । अन्यथा तपाईं हामीले चाहे पनि नचाहे पनि उनीहरु राउत–गिरि प्रवृत्ति र सोचहरुकै नजिक पुग्नेछन् जुन कालान्तरमा सिङ्गै मुलुकको निम्ति घातक सिद्ध हुने पक्का छ ।
दसवर्षे छोराछोरी लुटुपुटु हुँदै बुबासँग सुत्न आउँथ्यो, आफूले जे भने पनि मान्थ्यो भन्दैमा बीस वर्ष पुग्दा पनि त्यसो गरेन भनेर उनीहरुले बुबासँगको सम्बन्ध तोड्न खोजेको हो भन्ने बुझ्नु हुँदैन । समयअनुसार त्यो माया र आत्मीयता कायमै छ भन्ने बुझ्नुपर्छ । अहिले मधेशी, जनजाति र दलितहरु पनि जवान भएका छन् । उनीहरुसँग राज्य र शासकहरुको सम्बन्ध अब राणाकाल र पञ्चायतकालको जस्तो नहुनसक्छ । तसर्थ नयाँ ढंगले उनीहरुका माग र चाहनालाई पनि बुझेर हाम्रो सम्बन्ध र आत्मीयतालाई कायम राख्नुपर्छ ।
यहाँ त उच्च स्तरका नेताहरुदेखि कार्यकर्ता र समर्थकसम्मका केही व्यक्तिहरु मधेशी, जनजाति र दलितप्रति निकै अनुदार देखिन्छन् । उनीहरुबाट बेलाबेला अनेक खालको अवाञ्छित अभिव्यक्ति आउने गरेका छन् र त्यस्ता व्यवहार देखिने गरेका छन् जसले अन्ततस् आम उत्पीडित जनतालाई विद्रोहीहरुको कित्तामा सामेल हुन दिनानुदिन बाध्य बनाइरहेका छन् । यसप्रति हामी सबै सजग बनौं, त्यस्ता अभिव्यक्ति र व्यवहारलाई निरुत्साहित गर्ने जिम्मा हामी सबैले लिऊँ । मनपरी थुतुनो चलाएर समस्याको समधान हुनेवाला छैन । विद्रोहीलाई दबाउने कुरा मात्रै नसोचौं, आम जनतालाई विद्रोहीको पक्षमा जानबाट पनि रोकौं । दूरदृष्टि राखौं । उनीहरुका न्यायपूर्ण र जायज मागको समयमै सम्बोधन गरौँ । अनि राउत–गिरिहरुको आवाज त्यसै सेलाएर जानेछ । यस्ता आवाजलाई जबर्जस्ती दबाउन सक्छु भन्नु चरम मूर्खता हो ।
सबैमा मेरो आग्रह छ, सबै क्षेत्रका जनताका साथी बन्नुस्, उनीहरुको मनोभावना बुझ्नुस् अनि सोहीअनुसार बोल्नुस्, व्यवहार गर्नुस् । राज्यले पनि त्यसै गर्नुपर्छ, राजनीतिक पार्टीहरुले पनि त्यसै गर्नुपर्छ अनि हामी आम नागरिकले पनि त्यसैअनुसार गर्नुपर्छ । अनि मात्रै जन्मन लागेका अरु सिके राउत र सरिता गिरीहरू गर्भमै तुहिने छन् । मधेशी जनताचाहिँ नोकर हुन्, राज्य र सरकार अनि पहाडियाहरुचाहिँ उनीहरुका मालिक हुन् भन्ने नकारात्मक सन्देश प्रवाह गरियो भने नचाहेर पनि धेरै सिके राउत र सरिता गिरिहरु जन्मने छन् । चेतना भया ।esamata.com